प्रस, वीरगंज, २९ जेठ/

पर्सा जिल्लामा पोलियोविरुद्धको खोप आशाप्रदरूपमा सफल भएको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ। खोप अधिकृत जयमोद ठाकुरले ३१ हजार १९६ जना विद्यालयका बालबालिकालाई पोलियोविरुद्धको खोप दिने लक्ष्य रहेकामा १४ वटा पालिकामा गरी ३७ हजार १९१ जनालाई पोलियोविरुद्धको खोप दिएको बताए।

उनले विद्यालयबाहिर र जिल्लाबाहिरका विद्यार्थीहरू गरी लक्ष्यभन्दा बढी खोप प्रदान गरिएको बताए। पर्सा जिल्लामा राष्ट्रिय पोलियो खोप अभियान अन्तर्गत दुई चरणमा खोप लगाइएको थियो। पहिलो चरणमा जेठ १३ देखि १६ गतेसम्म र दोस्रो चरणमा जेठ २० देखि २६ गतेसम्म गरी खोप लगाइएको तर त्यसको रिपोर्ट आउन केही दिन ढिला भएको उनले बताए। हाल सबै ठाउँबाट खोपसम्बन्धी रिपोर्ट आइसकेको र रिपोर्ट अनुसार लक्ष्यभन्दा बढी खोप दिइएको उनले बताए।

पहिलो चरणमा जेठ १३–१६ गतेसम्म खोप अभियान भएपनि एक दिन थप गरिएको, दोस्रो चरण लक्षित समयमैं सम्पन्न गरिएको उनले बताए। वीरगंज महानगर, पोखरिया, पर्सागढी नगरपालिका, छिपहरमाई, जगरनाथपुर, पटेर्वासुगौली, जीराभवानी गाउँपालिकामा लक्ष्यभन्दा बढी विद्यार्थीहरूलाई खोप दिइएको खोप अधिकृत ठाकुरले बताए।

उनले विद्यालयबाहिरका ६२९ र द्रुत सुलभ अनुगमनमा ५८ जनालाई पोलियोविरुद्धको खोप दिइएको बताए।

अत्यधिक गर्मीको कारण पहिलो चरणको खोप अभियान प्रभावित हुने शङ्का गरिएको थियो। पर्सा जिल्लामा अधिकांश सामुदायिक विद्यालय १६ गतेदेखि बन्द भएका थिए। १५ गते गणतन्त्र दिवसले विद्यालय बन्द भएको र त्यसपछि अत्यधिक गर्मी बढेर बिदा दिएको कारण पहिलो चरणको खोप अभियान प्रभावित हुने आशङ्का गरिए पनि लक्ष्यभन्दा बढी खोप दिन सकेको खोप अधिकृत ठाकुरले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here