भारतले पाकिस्तानलाई छ रनअन्तरले पराजित गदै आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ। विश्वकपको पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो।
अमेरिकाको न्यूयोर्कमा गएराति सम्पन्न खेलमा भारतले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११३ रनमा समेटियो। पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए। त्यस्तै, इमाद वासिमले १५ रन रन बनाउँदा बाबर आजम, उस्मान खान र फखर जमानले समान १३/१३ रन बनाए।
पाकिस्तानलाई ११३ रनमा समेट्ने क्रममा भारतका जसप्रीत बुमराहले तीन विकेट लिए भने हार्दिक पाण्ड्याले दुई विकेट झारेका थिए। त्यस्तै, अर्शदीप सिंह र अक्षर पटेलले समान एक/एक विकेट लिए।
त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै ११९ रनको योगफल बनाएको थियो। भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ३१ बलमा छ चौकासहित ४२ रन बनाए। यस्तै, अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन जोडे।
पाकिस्तानका लागि नसीम शाह र हरिश रौफले समान तीन/तीन विकेट लिए भने मोहम्मद आमीरले दुई विकेट लिए। त्यस्तै, शाहिन शाह अफ्रिदीले एक विकेट झारे। यस हारसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा न्यून भएको छ। पाकिस्तानको यो लगातार दोस्रो हार हो। यस अघि पाकिस्तान अमेरिकासँग पराजित भएको थियो। यस जीतसँगै भारतले दुई खेलमा चार अङ्क जोडेको छ। अमेरिकाको पनि दुई खेलमा समान चार अङ्क नै छ। क्यानडाको दुई खेलमा दुई अङ्क रहेको छ। पाकिस्तानको दुई खेल र आयरल्यान्डको एक खेल अङ्कविहीन छन्।