माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतीजा सार्वजनिक हुन अब धेरै समय छैन। असारको दोस्रो हप्तासम्म नतीजा सार्वजानिक हुने निश्चित नै छ। यो वर्ष करीब ५ लाखभन्दा केही बढी विद्यार्थीले एसइई परीक्षा दिएका छन्।अभिभावक विद्यार्थीको लागि यो घडी ज्यादै महत्वपूर्ण हुने कुरा सर्वविदितै छ। कक्षा ११ र १२ मा ऐच्छिक विषय रोजेर पढ्नेले नै भविष्यमा उच्च शिक्षातर्फ कुन विषय अध्ययन गर्ने भन्ने अवसर पाउँछ । त्यसैले पनि विद्यार्थी र अभिभावक अलि चनाखो हुन आवश्यक रहेको शिक्षाविद्हरू बताउँछन् । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतका ४ हजार १ सय ९७ विद्यालयमा कक्षा ११ र १२ को पढाइ हुन्छ । विद्यार्थी आफ्नो चाहना अनुसार विषय छनोट गरेर सामुदायिक र निजी विद्यालयमा अध्ययन गर्ने अवसर पाउँछन् ।
पाठ्यक्रम संरचनामा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानून, पत्रकारिताजस्ता विभिन्न विषय छनोट गरेर पढ्ने व्यवस्था मिलाइएको छ । अङ्ग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा वा गणित अनिवार्य विषय छन् भने अन्य विषय विद्यार्थीले रोजेर अध्ययन गर्न पाउँछन् । सामुदायिक विद्यालयमा अनिवार्य विषयका पुस्तक सरकारले निश्शुल्क दिने व्यवस्था छ ।
कक्षा ११ र १२ मा पढ्ने ऐच्छिक विषयले नै उच्चशिक्षा (स्नातक तथा स्नातकोत्तर) मा इन्जिनीयरिङ, चिकित्सा, विज्ञान, प्रविधि, कृषि/पशुविज्ञान, व्यवस्थापन, मानविकी, कानून, शिक्षा के पढ्ने निक्र्योल गर्छ । कक्षा ११ र १२ को पाठ्यक्रममा विज्ञान,व्यवस्थापन, मानविकी, कानूनलगायत सङ्काय भनेर ठ्याक्कै विषय किटान नगरे पनि ऐच्छिक समूहबाट यी सङ्कायसँग सम्बन्धित विषय विद्यार्थीले छानेर पढ्न सक्छन् ।
कक्षा ९–१० पढाइ हुने विद्यालयको सङ्ख्या ११ हजार १ सय ८ भए पनि ११ र १२ पढाइ हुने विद्यालयको सङ्ख्या न्यून भएकोले धेरै विद्यार्थी नयाँ विद्यालयमा भर्ना हुनुपर्ने अवस्था छ । विद्यालय छनोट गर्दा आपूmले चाहेको विषय पढाइ हुने वा नहुने विद्यार्थी अभिभावकले भर्ना अघि यकीन गर्नुपर्छ । कक्षा ९–१० मा प्राविधिक धारतर्फ अध्ययन गरेका विद्यार्थीले ११–१२ मा तिनै विषयसँग सम्बन्धित विषय पढ्न पाउने व्यवस्था छ । उच्च शिक्षाको तयारीसँगै स्वरोजगार र रोजगारमा जान चाहनेका लागि कक्षा ११ र १२ को पढाइ निर्णायक खुडकिलो मानिन्छ ।
उच्च शिक्षाको तयारीको मुख्य धरातल पनि कक्षा ११ र १२ को पढाइ नै हो । सरकारले माध्यमिक शिक्षा पूरा गरेपछि मुलुकलाई चाहिने प्रारम्भिक स्तरको दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । साधारण र प्राविधिक धारको अध्ययनबाट त्यस्ता जनशक्ति तयार हुने अपेक्षा गरिन्छ । अर्कोतर्फ प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गत प्राविधिक धारतर्फ डिप्लोमा तहको पठनपाठन हुन्छ । प्राविधिक धारतर्फ डिप्लोमा तहको पढाइ गर्ने विद्यार्थीले पनि कक्षा १२ बराबरको समकक्षता पाउने व्यवस्था छ ।
सिटिइभिटीमा स्वास्थ्यतर्फ १० वटा विषय अध्ययन गर्न सकिन्छ । त्यस्तै, इन्जिनीयरिङतर्फ भने १३ विषय छन् । तीबाहेक वन/कृषि, टुरिज्म एन्ड हस्पिटालिटीतर्फ कृषि (बाली/कृषि विज्ञान), होटल म्यानेजमेन्ट, सोसियल बर्कर, फुड एन्ड डेरी टेक्नोलोजी र फरेस्ट्री विषय छन् ।
ऐच्छिक विषय कुन रोज्ने ?
साधारण धारतर्फ– पहिलो समूह : भौतिक विज्ञान, लेखाविधि, ग्रामीण विकास, विधिशास्त्र/कानूनी सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकूद विज्ञान, बालविकास र सिकाइ, मनोविज्ञान, इतिहास, लैंङ्गिक अध्ययन, अतिथि सत्कार व्यवस्थापन, बाली विज्ञान, प्राकृतिक चिकित्सा, मानवमूल्य शिक्षा र मूर्तिकला।
दोस्रो समूह : जीव विज्ञान, शिक्षा विकास, भूगोल, कार्यविधि कानून, समाजशास्त्र, आयुर्वेद, व्यवसाय अध्ययन, भाषा विज्ञान, राजनीतिशास्त्र, दर्शनशास्त्र, जनसङ्ख्या अध्ययन, बागवानी, खाद्य/पोषण, नृत्य र कम्प्युटर विज्ञान
तेस्रो समूह : रसायन विज्ञान, अर्थशास्त्र, पर्यटन/पर्वतारोहण अध्ययन, बजारशास्त्र, बुढ्यौली तथा स्याहार शिक्षा, योग, वाद्यवादन, सिलाइ तथा बुनाइ, संवैधानिक कानून, पाककला, संस्कृति, फेसन, डिजाइनिङ, सिनेमा तथा डकुमेन्ट्री, पशु/पन्छी/माछापालन, नेपाली, अङ्ग्रेजी, मैथिली, नेवारी, हिन्दी, चिनियाँ, जर्मन, जापानिज, कोरियन, उर्दू, फ्रेन्ज, हिब्रु, अरेबिक र संस्कृत।
चौथो समूह : गणित, प्रायोगिक/वाणिज्य गणित, पुस्तकालय तथा सूचना विज्ञान, मानव अधिकार, गृह विज्ञान, वातावरण विज्ञान, साधारण कानून, वित्तशास्त्र, सहकारी व्यवस्थापन, बौद्ध अध्ययन, प्रायोगिक कला, गायन, चित्रकला, रेशम खेती/मौरी पालन, सौन्दर्यकला/केशकला, औषधिजन्य जडीबुटी, प्लम्बिङ/वायरिङ, आन्तरिक सजावट, होटल व्यवस्थापन, आमसञ्चार।
कस्तो विद्यालय छान्ने ?
विद्यालय छनोटमा अभिभावकको ठूलो भूमिका हुन्छ। आप्mनो बच्चाले पढ्न खोजेको विद्यालयमा आफैं गएर सत्य तथ्य बुझ्ने प्रयास गर्नुपर्छ। कसैको बहकावमा आएर विद्यालय छान्दा भविष्यको गन्तव्य र लक्ष्यमा ग्रहण लाग्न सक्छ। कुनै पनि विद्यालय छान्दा त्यसको व्यवस्थापन पक्ष, पढाउने गुरुहरूको दक्षता, विद्यालयको भित्री र बाहिरी वातावरण, अनुशासन साथै शान्ति सुरक्षाका अवस्थाहरू भरपर्दो र दरिलो हुनुपर्दछ।
शिक्षकहरू अपरिपक्व, अनुभवहीन र अयोग्य छन् भने त अवस्था झनै खराब हुन सक्छ। तसर्थ, अभिभावक र विद्यार्थीले शुरूमैं शिक्षकदेखि कलेज सञ्चालकसम्मको योग्यता र पृष्ठभूमि हेर्नुपर्ने जानकारहरू बताउँछन्। उनीहरूका अनुसार लामो समय शैक्षिक क्षेत्रमा लागेकाहरूले चलाएको र व्यवस्थापन चुस्त र प्लस टु बढी भरपर्दा हुन्छन्। शिक्षाविद् मनु वाग्ले प्लस टु छान्नुपूर्व सञ्चालक र शिक्षकको टीमबारे राम्ररी बुझ्नुपर्ने बताउँछन्। परीक्षामा राम्रो नतीजा ल्याउने होडले प्लस टुहरूको पढाइमा सिर्जनशीलता हराउँदै गएको छ। अधिकांश प्लस टुले पढाइलाई परीक्षा केन्द्रित बनाउँदा यस्तो समस्या देखिएको शिक्षाविद्हरू बताउँछन्। विषयवस्तुको गहिरो ज्ञान दिनेभन्दा नोट घोकाउने, गेसपेपर पढ्न लगाउने विकृति भित्रिएको छ। शिक्षाविद् केदारभक्त माथेमा सञ्चालकहरूको दबाबमा परेका शिक्षकहरूले पढाइलाई सिकाइ केन्द्रित नभई परीक्षा केन्द्रित बनाएको बताउँछन्। “विद्यार्थीमा विश्लेषणात्मक कौशल र अरूको भनाइ खण्डन गर्ने क्षमता विकास भएको देखिएन” माथेमाको मूल्याङ्कन छ– “जबकि, राम्रो शैक्षिक संस्थाले विद्यार्थीलाई जिज्ञासु र तार्किक बनाउँछ।”
धेरै विषयका शिक्षकहरुलाई ब्लुम्स टेक्नोलोजीबारे जानकारी नै नभएको अवस्था छ। शिक्षा क्षेत्रमा लागेका प्रत्येकलाई यसबारे जानकारी हुनु जरुरी हुन्छ। यसको एउटा इमेज हो, अभिभावक तथा विद्यार्थीहरूले कुनै पनि स्कूल/कलेजमा भर्ना हुनुभन्दा अघि यी माथि उल्लिखित विषयहरूबारे सम्बन्धित निकायमा जानकारी छ कि छैन बुझ्नु जरुरी छ। पढनु, घोक्नु बेग्लै कुरा हो तर विद्यार्थीले पढेको र सिकेको कुरा साधारण जीवनमा अवलम्बन गर्न सकेको छ कि छैन त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो। प्राज्ञिक ज्ञान प्राप्त गरेर मात्र पुग्दैन। उसले अनुशासन, सहनशीलता, धैर्य, समाजीकरण, राष्ट्र र राष्ट्रियता, देशको सार्वभौमिकता, आत्मसम्मान र आप्mनो धर्म र संस्कारलाई अङ्गीकार गर्न सिक्यो कि सिकेन भन्ने कुरा ज्यादै महत्वपूर्ण हुन्छ।
अन्त्यमा, +२ सम्म केटाकेटीहरूलाई स्थानीय स्कूल/कलेजमैं पढाउनुपर्ने विज्ञहरूको सुझाव छ। ठूला शहरहरूमा दुई दिनमा बच्चाहरू कुलतमा लागेर आफ्नो भविष्य अँध्यारो पारेको धेरै दृष्टान्तहरू छन्। र यो १६/१७ को उमेर ज्यादै संवेदनशील समय हो। यसलाई गम्भीरतापूर्वक लिइएन भने परिणाम ज्यादै दुखःदायी हुन सक्छ।