बङ्गलादेशमा हालै सम्पन्न अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाललाई उपविजेता बनाउन योगदान दिएको भन्दै वीरगंज महानगरपालिका–१५ का अध्यक्ष रमेश यादवले खेलाडी सागर यादवलाई सम्मान गरेका छन्।
वडाध्यक्ष यादवले खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले आफ्नै वडाका १८ वर्षीय सागर यादवलाई सम्मानस्वरूप नगद रु पाँच हजार र खादा ओढाएर सम्मान गरेको बताए। उनले आगामी दिनमा देशलाई अन्तराष्ट्रियस्तरमा परिचित गराउने माध्यम खेल रहेकोले खेलाडीलाई प्रोत्साहन गरेको बताए। भारतमा प्रशिक्षण खेलको लागि सागर भारत जाने भएकाले सोको सम्पूर्ण खर्च आफुले बेहोर्ने उनले बताए।
हालै सम्पन्न बङ्गबन्धु कबड्डी प्रतियोगितामा १२ वटा देश सहभागी भएकामा नेपाल उपविजेता भएको थियो।