काठमाडौं, २७ जेठ/रासस

आइसिसी टी–२० विश्वकप–२०२४ मा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनले पराजित गर्दै जीत हासिल गरेको छ।

गुयनाको प्रोविडेन्स रङ्गशालामा सम्पन्न खेलमा वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमा समेटियो। युगान्डाका लागि जुमा मियाँगीले अविजित १३ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार वेस्ट इन्डिजका अकिल हुसैन एक्लैले पाँच विकेट लिए भने अल्जारी जोसेफले दुई विकेट लिए भने रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक/एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७३ रन बनाएको थियो।

वेस्ट इन्डिजका लागि जोनसन चारल्सले ४४ रन बनाए भने आन्द्रे रसेलले अविजित ३० रन जोडे। कप्तान रोभमन पावेलले २३, सफ्र्यान रूदरफोर्ड र निकोलस पुरनले समान २२/२२ रन बनाए। ब्रेन्डन किङले १३ रन जोडे।

युगान्डाका लागि कप्तान ब्रायन मसाबाले दुई विकेट लिए। त्यस्तै, अल्पेश रामजानी, कोस्मास क्युउटा र दिनेश नकर्नीले समान एक/एक विकेट लिए। यससँगै प्रतियोगितामा लगातार दोस्रो जीत निकालेको वेस्ट इन्डिजले चार अङ्क जोेडेको छ। तीन खेलमा स्पर्धा गरेको युगान्डा दुई अङ्कमा सीमित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here