मधेस प्रदेशसभामा मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार राति विश्वासको मत पाउन सकेनन्।
यससँगै मधेसमा साढे छ वर्षपछि जसपा नेपाल नेतृत्वको सरकार ढलेको छ। जनमतको नेतृत्वमा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन अघि बढ्ने तयारी गरेको छ। गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए। साथै जनता समाजवादी पार्टी टुक्रिएको आज ३० औं दिन मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अन्तिम कार्यसूची थियो।
आज बिहान उनले आफू अस्वस्थ भएको समाभुख रामचन्द्र मण्डललाई जानकारी गराउँदै विश्वासको मत जेठ २८ गते राख्न अनुरोध गरे पनि सभामुखले सो प्रस्ताव अस्वीकार गर्दै आज रातिसम्म भएपनि विश्वासको मत लिनुपर्ने रुलिङ गरेका थिए। सोही अनुसार आज साँझ भएको मतगणनामा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत पर्यो भने विपक्षमा ५३ मत परेको छ। बहुमतका लागि १०७ सदस्यीय मधेस प्रदेशमा ५४ मतको आवश्यकता पर्छ।
आज प्रदेशसभामा १०३ सांसद उपस्थित थिए। मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काङ्ग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका थिए। विपक्षमा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरे।
प्रदेशसभामा एमालेको सभामुखसहित २५, नेकाका २२, जसपाका १९, जनमतका १३, माओवादी केन्द्रका नौ, लोसपाका आठ, एकीकृत समाजवादीका सात र राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादीका एक/एक सिट छन्।
२०७९ पुस २३ मा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीलगायतका दलको समर्थनमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए।
गठबन्धन फेरबदल हुँदै आउँदा उनले चारपटक विश्वासको मत लिएका थिए भने अहिले पाँचौंपटकमा अल्पमतमा परेसँगै उनी मुख्यमन्त्री पदबाट हटनुपरेको छ।