काठमाडौं, २१ जेठ/रासस

नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोट्र्स क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फको खेलमा जीत हासिल गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा सोमवार भएको खेलमा पुलिसले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै जीत हासिल गरेको हो।

पुलिसले पहिलो सेट २५–२० ले जित्यो भने खेलको दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पा–यो। त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट २५–१८ ले आफ्नो पक्षमा पा–यो।

यससँगै पुलिसले प्रतियोगितामा तेस्रो जीत दर्ता गराएको छ। यस अघि पुलिसले सुदूरपश्चिम प्रदेश र एपिएफलाई पराजित गरेको थियो। आजको खेलमा पराजित बूढानीलकण्ठले अहिलेसम्म जीत हासिल गर्न सकेको छैन। बूढानीलकण्ठ हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो।

आजै भएको अर्काे खेलमा हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई ३–० कै सोझो सेटमा पराजित गर्दै विजयी भयो। हेल्प नेपालले खेलको पहिलो सेट २५–१९, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले जित्यो। हेल्प नेपालले यसअघि बूढानीलकण्ठ र कोशी प्रदेशलाई पराजित गरेको थियो। सुदूरपश्चिम प्रदेश भने नेपाल पुलिस क्लब र गण्डकी प्रदेशसँग पराजित भएको थियो।

यसैगरी, महिलातर्फ आजै सम्पन्न खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेश तथा एभरेस्ट भलिबल क्लब, अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै विजयी भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here