प्रस, वीरगंज, २० जेठ/

बङ्गलादेशमा जारी  बङ्गबन्धु कबड्डी कप २०२४ मा केन्यालाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।

आइतवार ढाकामा भएको दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता केन्यालाई हराउँदै नेपाल बङ्गबन्धु कबड्डी कप–२०२४ को फाइनलमा प्रवेश गरेको हो।

खेलको निर्धारित समय ५०–५० को बराबरीमा समाप्त भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो। टाइब्रेकरमा नेपालले शारीरिकरूपमा बलियो केन्यामाथि ९–५ को जीत निकाल्दै नेपालले उपाधिका लागि बङ्गलादेशसँगको भिडन्त पक्का गरेको हो। नेपाल पहिलोपटक बङ्गबन्धु कबड्डीको फाइनलमा प्रवेश गरेको छ।

निर्धारित ४० मिनेटको अन्तिम समयसम्म नेपाल एक अङ्कले पछि थियो। तर कप्तान घनश्याम रोकामगरले अन्तिम मिनेटमा बोनस प्वाइन्ट निकाल्न सफल भएपछि खेल ५०–५० अङ्कमा बराबर भएको हो। टाइब्रेकरमा नेपालले नौ अङ्क जोड्दा केन्याले पाँच अङ्क मात्र जोडेपछि नेपाल ५९–५५ ले विजयी भएको हो। केन्या सन् २०२१ र २०२२ संस्करणको उपविजेतासमेत हो।

नेपालका कप्तान रोकामगर खेलको ‘म्यान अफ दी म्याच’ चुनिए। घनश्याम नेपालले खेलेका छ खेलमध्ये पाँचौं खेलमा ‘म्यान अफ दी म्याच’ चुनिएका हुन्। बङ्गबन्धु कप कबड्डीकै इतिहासमा टाइब्रेकरसम्म पुगेको यो पहिलो खेलसमेत हो।

बङ्गबन्धु कबड्डी कप २०२४ मा वीरगंज महानगरपालिका वडा नं १५ लक्ष्मणवा निवासी १८ वर्षीय सागर यादव पनि सहभागी छन्।

सागरले पहिलो मलेशिया, दोस्रो पोल्यान्ड, तेस्रो दक्षिण कोरिया, पाँचौं बङ्गलादेश र आज छैटौं केन्यासँग खेलेको उनका दाजु शिवशङ्कर यादवले जानकारी गराए। (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here