मधेस प्रदेशसभा सदस्य श्याम पटेलले योग्यता नभएका व्यक्ति पत्रकारितामा लागेकाले पत्रकारिताको गरिमा घट्दै गएको बताएका छन्।
आदर्श डेली अनलाइनको तेस्रो वार्षिकोत्सव कार्यक्रममा उनले व्यावसायिक पत्रकारिताको अभाव भएको बताए।
सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले सत्यतथ्यमा आधारित समाचार लेख्न सञ्चारकर्मीलाई सुझाव दिएका छन्। उनले कसैको विरोधमा लेख्दा समाजले विश्वास गर्नेगरी लेख्न आग्रह गरे।
जनता समाजवादी पार्टी नेपालका राजनीति समिति सदस्य सुरेन्द्र कुर्मीले भ्रष्टाचारविरुद्ध पत्रकारहरूले आवाज उठाउनुपर्ने जिकिर गरे। उनले पत्रकारितामा परिवर्तन भएमा राज्यका तीनवटै अङ्गमा पनि परिवर्तन आउने बताए।
कृष्ण मिडिया नेटवर्क प्रालिका अध्यक्ष कृष्ण यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका शिव पटेल, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरि पन्त, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारीलगायतले मन्तव्य राखेका थिए।