प्रस, वीरगंज, १८ जेठ/

होटल तथा पर्यटन समितिका संयोजक अनुज रूँगटाले होटल व्यवसायमा आवश्यक जनशक्ति तालीमबाट परिपूर्ति भइरहेको बताएका छन्।

होटल सङ्घ नेपाल काठमाडौं तथा होटल सङ्घ नेपाल मधेस प्रदेशले आयोजना गरेको हाउस किपिङसम्बन्धी तालीमको उद्घाटन कार्यक्रममा उनले युवाहरूलाई सीप सिकाएर स्वदेशमैं रोजगार दिलाउन यस्ता कार्यक्रमको आयोजना सराहनीय रहेको बताए। संयोजक रूँगटाले भारतीय पर्यटकको आवागमनलाई सहज बनाउनुपर्ने बताउँदै होटलमा कार्यरत कर्मचारीको व्यवहार र सेवामा पनि पर्यटकको आवागमन भर पर्ने बताए।

समाजसेवी एवं होटल व्यवसायी पशुपति विक्रम शाहले होटल व्यवसाय धराशयी अवस्थामा पुगेको बताए। उनले अर्थतन्त्र सुस्ताएसँगै होटल व्यवसाय पनि सुस्ताएको बताए। उनले होटलमा कार्यरत जनशक्ति रोजगारका लागि विदेश जाने गरेको बताए।

होटल सङ्घ नेपाल मधेस प्रदेशका उपाध्यक्ष मोहन प्रधानले होटलमा आवश्यक जनशक्तिको परिपूर्ति गर्नुका साथै युवालाई सीप सिकाएर रोजगार प्रदान गर्ने अभिप्रायले तालीमको आयोजना गरिएको बताए। होटल सङ्घ नेपालकी तालीम संयोजक सुजान लामाले कार्यक्रमबारे प्रकाश पार्दै तालीमबाट उत्कृष्ट तीनजनालाई पुरस्कृत गरिने बताइन्। २४ दिने यस तालीममा बृज सर्राफ र बद्री चौधरीले सहभागीहरूलाई प्रशिक्षण दिइरहेका छन्।

होटल सञ्चालक सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत हीरा प्लाजाका सञ्चालक विनोदकुमार चौधरी र सहजीकरण होटल सङ्घ नेपाल मधेस प्रदेशका उपाध्यक्ष मोहन प्रधानले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here