प्रस, वीरगंज, १८ जेठ/

युथ एडभोकेसी नेपालको आयोजना र पिस फर दलित्स फाउन्डेशन नेपालको सहकार्यमा सखुवाप्रसौनी गाउँपालिका–५ को वडा कार्यालय, महुवनमा स्वेच्छिक राष्ट्रिय समीक्षा’ सम्पन्न भएको छ।

दलित तथा सीमान्तकृत युवाहरूको दृष्टिकोणबाट दिगो विकास लक्ष्य कार्यान्वयनको अवस्था र यसका चुनौतीकोे पहिचान गर्नका लागि स्वेच्छिक राष्ट्रिय समीक्षाको बहुपक्षीय संवाद कार्यक्रम आयोजना गरिएको हो।

युथ एडभोकेसी नेपालले स्वेच्छिक राष्ट्रिय समीक्षाको बहुपक्षीय संवाद कार्यक्रम सातवटै प्रदेशका विभिन्न स्थानमा गरिरहेको जानकारी गराइएको थियो।

सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष  यशवन्त यादवले दिगो विकास लक्ष्य हासिल गर्न तीन तहको सरकारको महत्वपूर्ण भूमिका रहने बताए। उनले पहिलो जिम्मेवार निकाय भनेकै तीन तहको सरकारको हो र दिगो विकास लक्ष्य सामान्य देखिए तापनि यो गम्भीर विषयको रूपमा रहेको बुझ्न आवश्यक रहेको बताए।

वडाध्यक्ष अशेशरप्रसाद यादवले दिगो विकास लक्ष्य पूरा गर्न ग्रामीण युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

युथ एडभोकेसी नेपालका केन्द्रीय सदस्य  सुस्मिता यादवले दिगो विकासमा गरीबीको अन्त्य, भोकमरीको अन्त्य, सुस्वास्थ्य तथा समृद्ध जीवन, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पिउने पानी तथा सरसफाइ, स्वच्छ ऊर्जा र मर्यादित काम र आर्थिक वृद्धि जति पनि लक्ष्य रहेको बताइन्।

केन्द्रीय सदस्य सञ्जय पन्थीले स्वेच्छिक राष्ट्रिय समीक्षा प्रतिवेदन निर्माण गर्न लागिएको बताए।

कार्यक्रममा सहभागीलाई विभिन्न समूहमा विभाजन गरी दिगो विकासका १७ वटा लक्ष्यमध्ये युवाहरूसँग सम्बन्धित नौवटा लक्ष्यका बारेमा सुझाव सङ्कलन गरिएको थियो। युथ एडभोकेसी नेपालककी बोर्ड सदस्य सुस्मिता यादवको अध्यक्षतामा भएको कार्यक्रममा पिस फर दलित्स फाउन्डेशन नेपालका अध्यक्ष मनोज राम, परमानन्द रामलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here