-सञ्जय साह मित्र

सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी कृषिमा लगानी दशक घोषणा गर्ने तयारी गरेको छ। सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको लागि प्रस्तुत भएको आय–व्यय विवरण (बजेट) मा यस किसिमको घोषणा गरिएको हो। पहिलेदेखि नै यसको तयारी चलिरहेको बताइएको थियो। यस कुरालाई सबैतिरबाट निकै राम्रो मानिएको छ। पहिलेदेखि विभिन्न सञ्चारमाध्यममा यसबारे जानकारी आउँदा मुख्यरूपमा देशमा उन्नत कृषि चाहने पक्षले निकै सकारात्मक कदम हुने प्रतिक्रिया दिइरहेको थियो। कृषिमा निकै राम्रा कार्यक्रमहरू ल्याइएको यस वर्षको बजेटमा यो निकै सुखद पक्ष हो कि देशमा कृषिले महत्व पाएको छ। पहिलोपटक देशले कृषिमा लगानी दशक घोषणा गर्दैछ। अब देशमा कृषिमा पनि लगानी गर्नुपर्छ भन्ने वातावरण तयार हुन्छ। यसबाट कृषि व्यवसायीकरणले गति लिन सजिलो हुने विश्वास गरिएको छ।

कृषि कार्यमा लाग्ने किसानका लागि मुख्यगरी दुई किसिमका समस्या हुन्छन्– पहिले लगानी गर्न नपाउनु र त्यसपछि उत्पादन बिक्री गर्न नपाउनु। किसानले चाहेर पनि लगानी गर्न पाउँदैन। उदाहरणको लागि एक बोरा मल पाउन उसले पालो कुर्नुपर्छ। एक बोरा मल पनि चाहिएको बेला पाइन्न। कम्तीमा कृषिका लागि चाहिने मल र कीटनाशक औषधि त बजारमा पाउनुपर्छ। यदि मल नै पाइन्न भने कृषिमा अन्य लगानीको खासै अर्थ रहँदैन। मल चाहिन्छ नै भने सरकारले मल किन्न ढिलो किन गर्ने ? किसान मलको पछाडि कुद्नुभन्दा कृषिको पछाडि कुद्ने वातावरण बनाउनु उचित हुन्छ। किसानलाई खेती गर्न के के चाहिन्छ ? तीमध्ये किसानले आफैंले गर्न सक्ने के के हो र राज्यले गरिदिनुपर्ने चाहिं के हो। राज्यले मल, बीउ र कीटनाशक औषधि पर्याप्त मात्रामा उपलब्ध गराइदिए किसान मज्जले उत्पादनमा ध्यान दिन पाउँथ्यो। त्यसपछि सिंचाइ उपलब्धता जरुरी छ। अहिले नेपालमा कृषि–उत्पादन बढाउन नसक्नु तथा गर्न चाहनेले पनि खेत बाँझो राख्नुका पछाडिको मुख्य कारण नै सिंचाइको अभाव हो।

लगानी दशकको सुखद शुरूआत सम्भव भएसम्म पहिलो वर्ष कृषिमा विद्युतीकरणबाट हुनुपर्छ। हरेक खेतसम्म बिजुली पुगोस्। बिजुली पुग्नुको अर्थ हो किसानको हातमा पानी पुग्नु। बिजुली पुगेपछि कृषि मिटर पनि सजिलै किसानको हातमा पुग्ने व्यवस्था हुन  सकोस। किसानको हातमा मिटर पुग्छ भने मोटर आफैं किन्छ र खेतीमा लगानी गर्न सधैं तयार हुन्छ। जुन बालीले अलिकति बढी पैसा दिन्छ, सोही बाली लगाउन किसानहरू तयार हुन्छन्। सबैभन्दा बढी आम्दानी किसानलाई तरकारी खेतीबाट हुन्छ। सरकारले मधेसमा केरा तथा आँप खेतीलाई प्राथमिकता दिने बताएको छ बजेटमा। आँप त मधेसको सबैभन्दा प्रिय फल हो नै, अहिले केराखेतीको पनि विस्तार निकै भइरहेको छ। केराखेतीलाई अझ विस्तार गर्नुपर्छ र बजार पनि सुनिश्चित गर्नुपर्छ। हुनत केराको उपयोग काँचो तरकारी खान पनि गर्न सकिन्छ। केरा अन्य बालीजस्तो एक दुई दिनमै खत्तम भइहाल्ने बाली होइन। यो बहुवर्षे बाली हो। एकपटक लगाएपछि कम्तीमा तीन वर्षसम्म रहन्छ भन्ने कुरो किसानहरूले पनि बताउने गरेका छन्। केराखेतीबाट नगद आय हुन्छ भन्ने कुरा किसानहरूले बुझेका छन्। सरकारको घोषणाले केरा किसानहरू पनि निकै उत्साहित भएका छन्। अब आँप र केरा नेपाली किसानको पहिचान हुने सम्भावना देखिएको छ।

अबको परिवेशमा कृषिमा लगानी दशकबाट कम्तीमा तीन क्षेत्र लाभान्वित हुने देखिन्छ: जमीन बाँझो रहँदैन, कृषि उत्पादकत्व बढ्छ र कृषकले सम्मानजनक आय पाउँछ। कृषिमा पर्याप्त लगानी भएपछि कृषियोग्य जमीनको प्रकृति र किसानको अवस्था अनुसार बाली लगाउन सजिलो हुन्छ। कुनै बाली केही महीनामैं तयार हुन्छ भने कुनै बाली कैयौं वर्षसम्म प्रतिफल दिने किसिमको हुन्छ। अल्पकालीन अवधिमा हुने बाली, वर्षे वा मौसमी बाली तथा बहुवर्षे बालीमध्ये किसानलाई जुन पायक पर्छ वा जसबाट बढी आम्दानी लिन सकिन्छ जस्तो लाग्छ, त्यसको खेती गर्न सकिन्छ। अन्न वा फलपूmल जेको खेती गरे पनि खेत बाँझो नरहने हो भने किसान र देश दुवैलाई धेरै फाइदा हुन्छ। कृषि उत्पादकत्व वृद्धि भएपछि किसानको आय पनि बढ्छ। अहिलेको आवश्यकता पनि यही देखिन्छ कि किसानले आय वृद्धि चाहेको छ। किसानको आय वृद्धि हुनु देशकै लागि ठूलो कुरो हो।

कृषिमा लगानी भएमा कृषिले उद्योगको जस्तो रोजगार दिन सक्छ। कृषि नै यस्तो पेशा हो, जसले मानिसलाई दैनिक आम्दानी पनि दिन्छ। कतिपय किसानले दैनिक राम्रो आम्दानी लिने गरेको पाइएको छ। एक दुई कठ्ठामा तरकारी बाली लगाउने किसानले हरेक बिहान तरकारी बिक्री गरेर प्रायः दिउँसोभरि अरूको काम गरी दोहोरो प्रतिफल लिने गरेका छन्। बिहान दुई चार सयको तरकारी बेचेर दिउँसो अर्काको खेतबारीमा काम गरी दुई चार सय रुपियाँ ज्याला पाउने गरेका छन्। वा बिहानदेखि अर्काको खेतबारीमा काम गरी दिउँसो आफ्नो खेतबारीमा काम गरेर आम्दानी गर्ने गरेका छन्। पूँजी नभएका किसानले गर्ने यो तरिकाभन्दा अझ राम्रो कमाइ गर्ने अलि ठूला किसान हुन्। अहिले पनि के देखिन्छ भने उखु बाली लगाउँदा उखुमैं प्याज, लौका, खुर्सानी, काँक्रोजस्ता बाली लगाएर सिंचाइ र गोलमेलका साथै मल दिंदा निकै राम्रो आम्दानी लिने गरेका छन्। उखुखेतीमा लाग्ने लगानीभन्दा करीब दश प्रतिशत मात्र बढी लगानी सिंचाइ तथा मल र जनमा गर्दा अप्रत्याशित आम्दानी हुने गरेको छ। यद्यपि यस्ता बहुबाली कृषि गर्नेको सङ्ख्या निकै कम छ। किनभने लगानी धेरै लाग्छ तर कृषिमा लगानी दशकले यस किसिमको वातावरण सिर्जना हुने देखिन्छ कि एकै समयमा दुई वा बढी बाली लगाएर किसानलाई दोहोरो आय हुने उपायको विस्तार हुन्छ। जब किसानलाई खेतीबाट दोहोरो आय आउन थाल्छ तब कृषि आकर्षक बन्न पुग्छ। कृषिमा युवाको आकर्षण बढ्नुपर्छ। युवामा कृषिप्रति सकारात्मक भावको विकास गराउन पनि कृषिमा लगानी वृद्धि उचित देखिन्छ।

कृषिमा लगानी दशक निकै सार्थक दशक हुनेछ। यसबाट कृषकको मुहार र देशको मुहार फेरिने आशा गर्न सकिन्छ। कृषकलाई आम्दानीमा वृद्धि हुने तथा कृषिमैं रोजगार र आकर्षण शुरू हुने हो भने कृषियुग पुनः आउने सम्भावना छ। अहिले जुन किसिमको निराशा रहेको छ, त्यसमा सुधार आउने छ र कृषकमा उत्साह आउँदा उक्त बालीको उत्पादन निकै वृद्धि हुन्छ। कृषकमा उत्साह ल्याउनु जरुरी छ। कृषकमा उत्साह ल्याउन यस किसिमको लगानी दशकले नयाँ मार्ग तय गर्नेछ। कृषिले देशको आम्दानीमा पर्याप्त योगदान दिन सकिने सम्भावना रहेको छ। अहिले जसरी खाद्यान्न तथा तरकारी र कृषिजन्य अन्य पदार्थको आयात भइरहेको छ, यदि कृषि क्षेत्रमा पर्याप्त लगानी गर्ने हो भने धेरै हदसम्म प्रतिस्थापन गर्न सकिन्छ। जब नगद आम्दानी बढ्न थाल्छ तब उक्त पेशालाई सबैले सम्मान पनि दिन थाल्छन्। कृषिबाटै धेरै आम्दानी लिने किसानलाई अर्को किसानले सम्मान दिइरहेको हुन्छ भने सबै किसानको आत्मसम्मान बढाउने तथा देशको अर्थतन्त्रमा सकारात्मक योगदान दिई रोजगार र स्वरोजगारमा वृद्धि गर्ने कृषि क्षेत्र हेय होइन, विशिष्ट सम्मानको क्षेत्र बन्न पुग्नेछ। लगानी दशकले कृषिलाई निर्वाहमुखीभन्दा नयाँ दिशा र गति दिने विश्वास रहेको छ। अझ कृषिमा आधारित उद्योग धन्दाको विकास भएर कृषिको विविधीकरण तथा व्यवसायीकरणमा जोड दिइन्छ। कृषिको आधुनिकीकरण त स्वाभाविक हो। कृषिले अब जुनी फेर्ने सम्भावना रहेकोले यसप्रति सबैको आशा र अपेक्षा वृद्धि भएको छ। अबको कृषि रोजगारमूलक बनोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here