नारायणी अस्पताल देशकै पुरानो अस्पतालमध्येको एक हो। यो अस्पतालमा चितवन, मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी र छिमेकी भारतका विभिन्न स्थानबाट सेवाग्राहीहरू आउँथ्ये। अहिले यो अवस्था छैन। सबै जिल्लामा अस्पतालहरू सञ्चालनमा आइसकेका छन्। यसका साथै निजी अस्पतालहरू पनि सुविधासम्पन्न खुलेका छन् र खुल्ने क्रममा पनि छन्। अहिले पर्साबाट नै बढीजसो बिरामीहरू चितवन जिल्लामा जाने गरेका छन्। त्यहाँ विभिन्न रोगका अस्पतालहरू सञ्चालनमा आएका छन् र खासगरी क्यान्सरपीडितहरू चितवनमा जाने गरेका छन्। निजी तथा सरकारी क्यान्सर अस्पताल सञ्चालनमा आएकाले अहिले अन्य रोगको तुलनामा क्यान्सररोगको लागि चितवन निकै चर्चित बनेको छ। चितवन एक प्रकारले अस्पतालको हब भएको छ। यस क्षेत्रका बिरामीहरूको पहिलो गन्तव्य चितवन बनेको छ। सेवासुविधाहरू जहाँ पाउँछन्, बिरामीहरूको पहिलो रोजाइ त्यही हुन्छ। नारायणी अस्पतालमा सेवासुविधाहरू नभएको पक्कै होइन। तर व्यवस्थापकीय कमजोरीले यो अस्पतालले आशाप्रद फड्को मार्न सकेको छैन। नारायणी अस्पताल अहिले सङ्घीय सरकार अन्तर्गत छ।

यहाँ डायलाइसिस मेशीन, मुटुपरीक्षणका लागि क्याथ ल्याब, सर्जिकल, मेडिकल, दन्त, आँखा, बाल बहिरङ्ग, बर्न र प्रसूतिलगायतका सेवाहरू प्रदान गरिन्छ। बिरामीहरूलाई आवश्यक पर्ने सबै खाले यन्त्रहरूको व्यवस्था छ। तर सञ्चालनमा भने छैनन्। यत्रो ठूलो अस्पताल अहिलेसम्म दुई सय शøयामा सञ्चालित छ। सरकारले पाँच सय शøयाको अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेर ठेक्का लगाए पनि पाँच वर्षदेखि अदालती प्रक्रियामैं अल्झेको छ। हाम्रो देशमा पूर्वाधार र विकास निर्माण कार्यमा अदालत ठूलो तगारो बनेर उभिएको सर्वविदितै छ। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पाँच वर्षदेखि भवन निर्माण हुन सकेको छैन। अर्को उदाहरण वीरगंजको विकासमा पनि अदालत नै तगारो बनेको छ। राजमार्ग विस्तारको लागि परेको रिट के कारणले हेर्न नभ्याउने हो बुझिनसक्नु छ। जसले गर्दा देशको महानगरको विकास कार्य अवरुद्ध भएको छ। नारायणी अस्पतालमैं फर्कौं, दुई सय शøयाको अस्पतालले दोब्बरी सेवा दिनुपरिरहेको छ। सो अनुसारको त्यहाँ जनशक्ति छैन। अस्पताललाई सुविधासम्पन्न बनाएर बिरामीहरूको उपचारमा सघाउने कार्यमा सरकार, अस्पताल विकास समिति, राजनीतिक दलहरू प्रतिबद्ध देखिएका छैनन्। मन्त्री परिवर्तनसँगै मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन हुन्छ। यो कार्य अस्पताल सुधारको लागि नभई अस्पतालमा भइरहेका अनियमिततामा कमिशन लिनु नै एकमात्र उद्देश्य रहेको अहिलेसम्मको क्रियाकलापबाट देखिएको छ।

मेसु परिवर्तन गरी आफूअनुकूलका कर्मचारीहरू ज्यालादारी, करारमा भर्ना गर्ने, औषधिलगायत स्वास्थ्य उपकरण खरीदमा कमिशन कुम्ल्याउने आदि। तर अस्पतालका बेथिति हटाउने कामहरू हुँदैनन्। महानगरपालिकाले अस्पतालको बाहिरी क्षेत्र सफाइ शुरू गरेपछि केही परिवर्तन भएको छ। नत्रभने भौतिक संरचनाको अभावमा सेवाहरू यत्रतत्र, असरल्ल र भताभुङ्ग, लथालिङ्ग अवस्थामा सञ्चालन हुँदै आएका छन्। अस्पताल विकास समितिको अध्यक्ष स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई नबनाएर पार्टीको कार्यकर्तालाई जिम्मा लगाउने तथा मेसु, चिकित्सक र कर्मचारीहरूलाई पार्टी, मन्त्रीको बफादार बनाउन खोजिनुले पनि अस्पताल भद्रगोल भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here