प्रस, वीरगंज, १४ जेठ/

पर्सा जिल्लामा पहिलो चरणको राष्ट्रिय खोप अभियान प्रभावित हुने देखिएको छ। जेठ १३ गतेदेखि सञ्चालित राष्ट्रिय खोप अभियान अन्तर्गत पर्सा जिल्लाका आठवटा पालिकामा पहिलो चरणको खोप अभियान शुरू भएको थियो।

१६ गतेसम्म सञ्चालन हुने पहिलो चरणको खोप अन्तर्गत वीरगंज महानगरपालिकाका एकदेखि १६ वटा वडा, बहुदरमाई नपा, छिपहरमाई, पकाहामैनपुर, धोबिनी, विन्ध्यवासिनी र ठोरी गाउँपालिका गरी आठवटा पालिकामा खोप अभियान सञ्चालित छ। यसैबीच, वीरगंज महानगरपालिकाले खोप अभियान सञ्चालन भइरहेकै अवस्थामा विद्यालय बन्द गरेपछि खोप अभियान प्रभावित हुने देखिएको हो।

महानगरको शिक्षा महाशाखाले सोमवार सूचना जारी गर्दै जेठ १६ देखि १८ गतेसम्म तीन दिन अत्यधिक गर्मीको कारण वार्षिक बिदाबाट कट्टा हुनेगरी महानगर अन्तर्गतका विद्यालयहरू बन्द गरेको छ। विद्यालयहरू बन्द गर्दा खोप अभियान प्रभावित हुने स्वास्थ्य शाखा पर्साका अधिकृत जयमोद ठाकुरले बताए। उनले महानगरका शिक्षा र स्वास्थ्य शाखाबीच समन्वय नहुँदा विद्यालयहरू बन्द गरिएको र यसले खोप अभियान प्रभावित हुन सक्ने बताए। उनले जेठ १५ गते सार्वजनिक बिदा रहेको र १६ गते एक दिन मात्र विद्यालय सञ्चालनमा आएका भए पहिलो चरणको खोप अभियान प्रभावित हुँदैनथ्यो भनी बताए।

बिदा हुने भएपछि आज महानगर अन्तर्गतका वडा र अन्य पालिकामा खोप अभियान प्रभावित भएको र धेरै खोप फिर्ता आएको बताए। पर्सा जिल्लामा पहिलो चरणमा जेठ १३ देखि १६ गतेसम्म र दोस्रो चरणमा २० देखि २६ गतेसम्म राष्ट्रिय खोप अभियान सञ्चालन छ। प्रायः विद्यालयहरूमैं खोप केन्द्र रहेकाले   विद्यालयहरू बन्द भएपछि पर्सामा पहिलो चरणको खोप अभियान प्रभावित हुने जनाइएको छ।

२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरूलाई लक्षित गरेर राष्ट्रिय पोलियो खोप अभियान सरकारले सञ्चालन गरेको हो। सो अवधिमा खोप अभाव भएकोले सरकारले कार्यक्रम सञ्चालन गर्न नसकेको र अहिले सोही उमेर समूहका बालबालिकालाई लक्षित गरेर राष्ट्रिय खोप अभियान २०८१ सञ्चालन गरेको हो।

पर्सा जिल्लामा सो अवधिमा खोप लिनबाट वञ्चित ३१ हजार ८१२ जनालाई खोप दिने लक्ष्य रहेकामा प्रतिकूल अवस्थाले खोप प्रभावित हुन सक्ने बताइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here