प्रस, विरगंज, १४ जेठ/

नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयको मङ्गलादेवी सिंह मेमोरियल छात्रावास भवनको सोमवार उद्घाटन भएको छ।

तीन करोड २३ लाख रुपियाँ आर्थिक सहयोगमा निर्माण गरिएको भवनको जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्तरूपमा उद्घाटन गरेका थिए।

भारत सरकारको अनुदान सहयोगमा भान्साकोठा, डाइनिङ हल, भण्डार, वार्डेन, गार्ड, अतिथि, कार्यालय कक्ष तथा पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, हरित कक्ष, कपडा धुने कक्ष, शौचालय, स्नानघर, सौर्य ऊर्जा प्रणालीलगायतका सुविधासहितको ३९ कोठा भएकोे चार तले छात्रावास भवन निर्माण भएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।

भारत र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइएको थियो। यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, काठमाडौंमार्फत गरिएको हो।

सन् २००३ देखि भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकामा ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ।

काठमाडौं जिल्लाका ४१ परियोजनासहित बाग्मती प्रदेशमा १०६ वटा परियोजना रहेको दूतावासले जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here