आज जेठ १५ गते हाम्रो देशले १७औं गणतन्त्र दिवस मनाउँदै छ। २०६२/६३ को जनान्दोलनपछि देश गणतन्त्र घोषित भएको थियो र सोही बखतदेखि प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउन थालिएको हो। यो दिन नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी र ऐतिहासिक दिन हो। नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै जनताको जीत भएको दिन पनि हो। यसरी जितिएको पनि १५ वर्ष बितिसक्यो। गणतन्त्रका उपलब्धि संस्थागत गर्नका लागि यो अवधि कम होइन। राज्यले यस सवालमा कति काम गर्न सक्यो, सर्वसाधारण नागरिकले गणतन्त्रको प्रत्याभूति कति गर्न सके भनी चित्तबुझ्दो जवाफ आउने अवस्था अझै बनिसकेको भने छैन। राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक कुनै पनि पक्षमा देशले गणतन्त्रलाई आमजनतामाझ पूर्णरूपले आश्वस्त पार्न सकेकै छैन। बरु यो अवधिमा राज्य सञ्चालक तथा आफूलाई लोकतन्त्रको रक्षक ठान्ने राजनीतिक दल तथा तिनका नेताहरूमा कुनै न कुनै रूपमा सामन्ती सोच, संस्कार र व्यवहार हुर्किंदै गएको अनुभूति गरिंदैछ। सर्वहारावादी क्रान्तिको अगुवाइगर्नेहरू यो अवधिमा नवपूँजीपति, नवसामन्तीको रूपमा उदय भएका छन्।

जनताको शासन स्थापित भई राजाको स्थानमा जनताका छोराछोरी राष्ट्रपति र उपराष्ट्रपति बनेका छन्। तर दुर्भाग्य मुलुकमा गणतन्त्र आए पनि व्यवहारमा शासकको मनोवृत्ति गणतान्त्रिक बन्न सकेको छैन। यसले जनस्तरमा गणतन्त्रात्मक शासन व्यवस्था महसूस हुन पाइएको छैन। गणतन्त्रलाई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा परिवर्तन गर्नु त्यति सहज छैन। राजनीतिक दलका नेता तथा सरकारका क्रियाकलापहरू लोकतन्त्र र गणतन्त्रमुखी देखिएकै छैन। सरकारका कैयौं स्वेच्छाचारी निर्णयले जनताको हित र कल्याणभन्दा सत्तामुखी तथा व्यक्तिगत स्वार्थ केन्द्रित भएको देखिएका छन्। मुलुकको शासन व्यवस्था लोकतान्त्रिक हो। तर राजनीतिक नेतृत्वको चरित्र लोकतान्त्रिक भने हुन सकेको छैन, यो अत्यन्त दुःखद हो। राजतन्त्र फालेर मुलुक गणतन्त्रमय हुनु राजनीतिक दृष्टिले महत्वपूर्ण उपलब्धि भएकोमा द्विविधा छैन। तर जबसम्म जनस्तरमा शासन व्यवस्था परिवर्तनको अनुभूति हुन सक्दैन, तबसम्म त्यसको कुनै औचित्य हुँदैन। यसले मुलुकको शासन व्यवस्था परिवर्तनका लागि बलिदान दिने शहीदहरूको उत्सर्गको पनि अवमूल्यन भइरहेको छ। पटकपटक राजनीतिक आन्दोलनमैं अल्झिरहने समय जनतासँग छैन।

लोकतान्त्रिक गणतन्त्रलाई सर्वसाधारणको दैनिक जीवनमा अनुभूति हुनेगरी अगाडि बढ्न नेतृत्व तहमा व्यवहार परिवर्तनको खाँचो छ। तसर्थ राजनीतिक दलहरूको नेतृत्वदायी ओहोदामा बसेका शीर्ष नेतृत्वले लोकतन्त्र, गणतन्त्रको कुरा भाषण अनि दस्तावेजहरूमा मात्रै सीमित नराखी व्यवहारमा उतार्न सक्नुपर्छ। नेतृत्व तहले आफ्ना प्रवृत्तिहरूमा परिवर्तनका साथै मुलुकको आर्थिक विकास र समृद्धि  उन्मुख नीति निर्माणको जरुरी छ। आम नेपाली जनताको जीवनमा गणतन्त्रले परिवर्तन ल्याउन सके, आमजनताले त्यो परिवर्तन महसूस गर्न सके मात्रै गणतन्त्र दिवसको औचित्य सिद्ध हुन सक्छ। यसो हुन नसके गणतन्त्रविरोधीहरूले खेल्ने मौका पाउनेछन् भन्नेतर्फ पनि ध्यान दिन जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here