नेकपा एमाले स्थानीय विकास विभाग तथा केन्द्रीय पार्टी स्कूल विभागको आयोजना र नेकपा एमाले मधेस प्रदेश कमिटीको व्यवस्थापनमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू, पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश पदाधिकारीहरूलाई तीन दिने प्रशिक्ष्Fण कार्यक्रम बर्दिबासमा शुरू भएको छ।
कार्यक्रमको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्दै विगतको सरकार देश र जनताप्रति उत्तरदायी नभएपछि एमालेसहितको नयाँ समीकरण बनाएर अघि बढ्नुपरेको बताए।
उनले एमाले सामाजिक परिवर्तनको अभियान सफल बनाउन लागेको बताए। जनताको चाहना पूरा गर्दै आगामी दिनलाई मिसन ८४ मा केन्द्रित गरिने बताए।
प्रशिक्षण कार्यक्रममा स्थानीय तहको बजेट जनमुखी कसरी बनाउने, प्रणालीगत कानूनी प्रबन्ध तथा स्थानीय तहमा न्यायिक अधिकार, स्थानीय विकासमा नयाँ सोच र नयाँ काम तथा स्थानीय तहको आर्थिक स्रोत परिचालन र व्यवस्थापनलगायतका विषयमा वरिष्ठ उपाध्यक्ष पोखरेल, देवेन्द्र दाहाल, तत्व तिमल्सिना, हर्कराज राई, रामशरण प्याकुरेलले प्रशिक्षण दिंदैछन्।
मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता र प्रदेश सचिव मनोज पौडेलको सहजीकरणमा भएको कार्यक्रममा स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल, पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, केन्द्रीय सदस्यहरू रामऔतार यादव, कल्पना कटुवाललगायतको सहभागिता थियो। कार्यक्रममा उपसचिव आरती भण्डारीले स्वागत गरेकी थिइन्।