प्रस, वीरगंज, १० जेठ/

पर्सा जिल्लामा सवारी दुर्घटनाबाट १० महीनामा ४२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख एवं प्रहरी निरीक्षक भास्कर खतिवडाले चालू आवको साउनदेखि वैशाख मसान्तसम्म ३६ जना पुरुष, छजना महिला र एकजना बालिका गरी ४२ जनाको सवारी दुर्घटनामा मृत्यु भएको बताए । उनले सो अवधिमा ७० जना गम्भीर र ५२२ जना सामान्य घाइते भएको बताए । प्रनि खतिवडाले गम्भीर र सामान्य घाइते हुनेमा पुरुषको सङ्ख्या बढी रहेको जानकारी गराए । ५४ जना गम्भीर घाइतेसहित ३४७ जना पुरुष  घाइते भएका उनले बताए ।

यसैगरी, सो अवधिमा ४१२ वटा सवारी दुर्घटना भएकामा ८३ वटा सवारीसाधन क्षतिग्रस्त भएको प्रनि खतिवडाले जानकारी गराए । यसैगरी, सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीबाट रु दुई करोड १७ लाख १७ हजार ७५६ जरिवाना असुल गरिएको बताए ।

ट्राफिक नियम उल्लङ्घन सबैभन्दा बढी ट्रक चालकबाट भएको र उनीहरूबाट जरिवानाबापत रु एक करोड २२ लाख ८७ हजार दुई सय राजस्व सङ्कलन भएको उनले बताए । सोही अवधिमा नौ हजार ७३४ वटा मोटरसाइकल चालक कारबाहीमा परी रु ६८ लाख चार हजार र १७० वटा यात्रुवाहक बसका चालकलाई कारबाही गरी रु १६ लाख ७५ हजार जरिवाना असुल गरिएको प्रनि खतिवडाले  बताए । यसैगरी, सोही अवधिमा एक हजार ७२८ वटा हलुका सवारीसाधन (जीप, कार, भ्यान)का चालकबाट रु १५ लाख ८८ हजार ७०३ र ३१० वटा ट्याक्टरका चालकबाट रु दुई लाख ४७ हजार जरिवाना असुल गरिएको उनले बताए ।

उनले पर्सा जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिंदै आएको र ट्राफिक नियम कानूनबारेमा विभिन्न विद्यालयहरूमा कक्षा सञ्चालन गरिएको बताए । सचेतना कार्यक्रमबाट दुर्घटना न्यूनीकरण हुने र कक्षा सञ्चालनबाट ट्राफिक नियम उल्लङ्घनका घटनामा कमी आउने देखेर दुवै कार्यक्रमलाई प्राथमिकतामा राखेर सञ्चालन गरिरहेको र सोको प्रतिफल सकारात्मक देखिएको उनले दाबी गरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here