चिरञ्जीवी सापकोटा, ठोरी, १० जेठ/

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, वीरगंज, पर्साको आयोजना तथा आयुर्वेद औषधालय, ठोरीको समन्वयमा बिहीवारदेखि ठोरीका तीनवटा माध्यमिक विद्यालयका शिक्षकहरूलाई पाँच दिने विद्यालय आयुर्वेद तथा योग शिक्षासम्बन्धी तालीम शुरू भएको छ  ।

ठोरी गाउँपालिकाका वडाध्यक्ष अमृतकृष्ण सापकोटाले कार्यक्रमको उद्घाटन गर्दै आयुर्वेद र योगप्रति समाजले विश्वास गर्दै गइरहेको र निरोगीताको प्रमुख माध्यमसमेत बन्दै गएको हुँदा यस तालीमको पूर्णसदुपयोग गरी विद्यालय र समाजमा सकारात्मक सन्देश लैजान शिक्षकहरूलाई आग्रह गरेका थिए ।

 कार्यक्रममा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, वीरगंजका प्रमुख डा शिवनारायण गुप्ताले शिक्षकहरू समाजको आदर्श भएका हुँदा यो कार्यक्रम विद्यालयमा ल्याइएको र शिक्षकहरूलाई प्रशिक्षित बनाउने उद्देश्य राखिएको बताए ।

जिल्लाका तीनवटा विद्यालयका १२ जना शिक्षकलाई प्रशिक्षित पार्ने निर्देशन अनुसार आफूहरूको रोजाइमा ठोरी परेको समेत डा गुप्ताले बताए । ठोरी–२ मा अवस्थित वनशक्ति आधारभूत विद्यालयमा आजदेखि शुरू भएको आयुर्वेद तथा योग प्रशिक्षण आगामी सोमवार सकिनेछ । कार्यक्रममा सरस्वती मावि गौतमनगर, नेरामावि ओडार, श्री मावि विजयबस्ती र वनशक्ति आविका १३ जना शिक्षकको सहभागिता छ । माविस्तरीय विद्यालयबाट चारजनाको दरले  शिक्षकहरूको सहभागिता भएको र वनशक्ति आविका प्रधानाध्यापकको सहभागिता थियो तथा अन्य विद्यालयबाट प्रधानाध्यापक, पिटी शिक्षक, स्वास्थ्य तथा शारीरिक शिक्षा विषयका शिक्षकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, वीरगंजका प्रमुख गुप्ताको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण उक्त कार्यालयका वरिष्ठ कविराज निरीक्षक नागेन्द्रप्रसाद पटेलले गरेका थिए भने स्वागत मन्तव्य कार्यालयकै वैद्य निरीक्षक दिनेश साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here