पर्सा र बारा जिल्लाका विभिन्न स्थानीय तह अन्तर्गतका खोलाहरूमा अनधिकृत उत्खनन भइरहेको छ । यसै महीनाको मसान्तदेखि तीन महीनाका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लाग्ने हुँदा ठेकेदारहरूले तोकिएका मापदण्डविपरीत उत्खनन गरेर भण्डारण गरिरहेका छन् । नदीजन्य पदार्थको उत्खनन वातावरणीय परीक्षण प्रतिवेदनको आधारमा गरिनुपर्ने हो । सो प्रतिवेदनमा दैनिक कति उत्खनन गर्ने सोको परिमाण उल्लेख हुन्छ । यसैगरी, कति खाल्डो कति चौडा उत्खनन गर्ने र कुन नदीजन्य पदार्थ कति उत्खनन गर्ने भन्ने पनि उल्लेख हुन्छ । एकपटक तयार भएको वातावरणीय परीक्षण प्रतिवेदनका आधारमा एउटा खोलाको दुई आवसम्म ठेक्का लगाउन सकिन्छ । पर्सा र बारामा अहिले ठेक्का लागेका सातवटा खोला छन् । यी सातवटै खोलाको अहिले चरम दोहन गरिंदैछ । यसो त बारा जिल्लाका कोल्हवी, निजगढ नगरपालिका र जीतपुुरसिमरा उपमहानगरपालिका गरी तीनवटा पालिका अन्तर्गतका पाँचवटा खोलाबाट नदीजन्य पदार्थ उत्खनन शुरूदेखि विवादित रहँदै आएको छ । स्थानीय पालिका अन्तर्गतको अनुगमन समिति सक्रिय नभएकोले जिल्ला समन्वय समिति बाराले तीन पालिकाका पाँचवटा खोलामा नदीजन्य पदार्थको उत्खनन मापदण्डविपरीत भइरहेको अनुगमन गरेर थाकेपछि तेस्रोपटकको अनुगमनमा उत्खनन, ओसारपोसारमा रोक लगाएको छ ।
कोल्हवी र निजगढ नपाको बकैया र जीतपुरसिमरा उपमहानगरका बालगङ्गा, पसाहा, दुधौरा खोलाबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसारमा अहिले जिससको अनुगमन टोलीले रोक लगाएको अवस्था छ । दुईपटक अनुगमन गरेर यसो नगर्नु भनेर दिएको निर्देशन पालना नगरिएपछि समितिले उत्खननमा रोक लगाउनुपरेको हो । जिल्ला अनुुगमन समितिले रोक लगाएपछि अहिले सो खोलाहरूबाट नदीजन्य पदार्थको उत्खनन रोकिएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थको उत्खनन रोकिने हुँदा ती खोलाबाट ठेकेदारले स्काभेटरको प्रयोगबाट तोकिएको मापदण्डविपरीत नदीजन्द पदार्थ सङ्कलन गर्दै आएको पाइएको थियो । तीन महीनासम्म नदीजन्य पदार्थको उत्खननमा रोक लाग्दा ठेकेदारहरूले मापदण्डको परवाह नगरी अनधिकृतरूपमा उत्खनन गर्ने, भण्डार गर्ने र तीन महीना अवधिमा बढी मूल्यमा नदीजन्य पदार्थको बिक्री गर्ने मनसाय राखेका हुन्छन् । यो अहिलेदेखिको अभ्यास होइन । यस्तो बेलामा पालिका तहमा उपप्रमुखको संयोजकत्वमा बनेको अनुगमन समिति सक्रिय हुनुपर्ने हो ।
बारामा स्थानीय तहको सक्रियता नदेखिएपछि जिसस सक्रिय भयो र नियन्त्रणको प्रयास गरेको छ । तर पर्सामा भने भगवान्भरोसे रहेको देखिन्छ । वीरगंज महानगरपालिका–३१ स्थित भेडाहा खोला र पर्सागढी नपामा रहेको सिंघई खोलामा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लागेको छ । पर्सा जिल्लामा छवटा खोला छन् । तर विवादका कारण चारवटा खोलामा ठेक्का लाग्न सकेको छैन भने लागेका दुईवटा खोलामा मापदण्डविपरीत भइरहेको उत्खनन रोक्ने कार्य पनि भएको छैन । स्थानीय पालिका
तहको अनुगमन समिति निष्क्रिय हुँदा जिसस, पर्साले यसको अभिभारा बारामा जस्तो उठाएर नियन्त्रणको प्रयास गर्नुपर्ने थियो । त्यसो नहुँदा भेडाहा र सिंघई खोलामा अहिले जेठ मसान्तलाई लक्षित गर्दै मापदण्डविपरीत उत्खनन भइरहेको छ ।