प्रस, पोखरिया, ४ जेठ/
पटेर्वासुगौली गाउँपालिका–२ मा मधेस प्रदेशकै पहिलो थारू सङ्ग्रहालयको शिलान्यास गरिएको छ । बिहीवार भुमरीमाई पार्क परिसरमा थारू जातिका अगुवा एवं ज्येष्ठ नागरिक पुमेश्वर गौरोेले थारू सङ्ग्राहलयको शिलान्यास गरेका थिए ।
पहिलो चरणमा गाउँपालिकास्तरीय रु २० लाखको बजेटमा सङ्ग्रहालय निर्माण कार्य शुरू गरिएको उपाध्यक्ष ममता महतो थारूले बताइन् । सङग्रहालयमा तीनवटा ब्लक बन्नेछन् । पहिलो चरणमा रु २० लाखको लागतमा ‘फस्ट ब्लक’ बनाइने उपाध्यक्ष थारूले बताइन् । थप दुईवटा ब्लकका लागि आगामी आवमा रकम विनियोजन गरेर काम अगाडि बढाइने उनले बताइन् ।
२०८४ सालभित्र बृहत् थारू सङ्ग्रहालय निर्माण गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनले बताइन् । उनले पटेर्वासुगौलीमा निर्माण गर्न लागिएको थारू सङ्ग्रहालय मधेस प्रदेशकै पहिलो थारू सङ्ग्रहालय रहेको दाबी गरिन् ।
अध्यक्ष दिनेश चौधरीले थारू जातिको पहिचान र रीति, संस्कृति झल्किने घरका नमूना, थारूका पूर्वजले प्रयोग गरेका पहिरन, कृषि उपकरण, खानपानका सामग्री, थारू जातिको कुलदेउताको प्रतिमालगायत प्रदर्र्शनीका लागि राखिने बताए । पटेर्वासुगौली गापा–२ स्थित भुमरीमाई पार्कलाई पर्यटकीय गन्तव्यको केन्द्र बनाउने योजनाका साथ काम भइरहेको र यसमा थारू सङ्ग्रहालय पनि बनाउने बताए । पार्क परिसरमैं आधुनिक कृषि बजार निर्माणको काम पनि भइरहेको उनले जानकारी दिए । शिलान्यास कार्यक्रममा वडाध्यक्ष विजय गैरेलगायतको सहभागिता थियो ।