जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा र व्यवस्थित वीरगंज अभियानको आयोजनामा वीरगंजका विभिन्न विद्यालयहरूमा ट्राफिक सचेतना कार्यक्रम शुरू गरिएको छ ।
डिएभिआरभी केडिया स्कूलमा अध्ययनरत कक्षा १०, ११, १२ का विद्यार्थीहरूलाई बुधवार ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सवारी दुर्घटना नियन्त्रणबारेमा जानकारी गराइएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख एवं प्रहरी निरीक्षक भास्कर खतिवडाले सवारी दुर्घटना नियन्त्रणका लागि विद्यार्थीहरूले अभिभावकका साथै चिनजानका व्यक्तिहरूलाई सचेत गराउन सकेका खण्डमा दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने बताए ।
उनले सवारी दुर्घटनामा चालक मात्र नभएर पैदलयात्रीहरू पनि दुर्घटनाको शिकार हुनेतर्पm सचेत गराउँदै सुरक्षित तरीकाबाट यात्रा गर्नुपर्ने बताए । सो अवसरमा विद्यार्थीहरूलाई सवारी दुर्घटनासम्बन्धी श्रव्यदृश्यमार्फत पनि जानकारी गराइएको थियो । व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्कीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई यसअघि ट्राफिक सचेतना कार्यक्रम गराइएको र आगामी दिनमा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई यसबारेमा जानकारी गराउने लक्ष्यसहित अभियान अगाडि बढाइएको बताए ।
उनले यो अभियानलाई निरन्तरता दिंदै सबै विद्यालयमा ट्राफिक सचेतनासम्बन्धी सन्देशका साथै ट्राफिक चिह्न बोर्डहरू राखिने बताए ।
विद्यालयका प्रअ राकेश मिश्रले विद्यार्थीहरूलाई समयसमयमा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रमको आयोजना गरेर सचेत गराउँदै आएको बताए । उनले विद्यालय तहबाटै परिवर्तन सम्भव हुने भएकोले विद्यार्थीहरूलाई लक्षित गर्दै ट्राफिक सचेतना कार्यक्रम आयोजना गर्दै आएको जानकारी गराए ।
कार्यक्रममा विद्यार्थीहरूले अभिभावकहरूलाई हेलमेट नलगाइ तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउन नदिने प्रतिबद्धता जाहेर गरेका थिए ।