कास्की, २८ वैशाख/रासस
क्रिकेटका अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगरले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका छन् । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले शुक्रवार पोखरामा आयोजना गरेको आठौं संस्करणको पोखरा स्पोट्र्स अवार्डमा पुरुषतर्पm अर्जुन र महिलातर्पm सुस्मिता वर्ष खेलाडी घोषित हुँदै जनही एक/एक थान स्कूटी, ट्रफी र मेडल पुरस्कार प्राप्त गरे ।
वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा अर्जुनसहित भलिबलका हिमाल सुनारी र टेनिसका प्रदीप खड्का परेका छन् । यसैगरी, उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले प्राप्त गरे । उनले नगद रु ३५ हजारसहित ट्रफी पाए ।
यसैगरी, १७ वर्षमुनिका खेलाडीबीच प्रतिस्पर्धा हुँदा उदीयमान खेलाडी विधाको अवार्ड ब्याडमिन्टनकी दिलासा रानामगरले प्राप्त गरिन् । उनले अवार्डसँगै नगद रु ३५ हजार र ट्रफी र मेडल पाइन् ।
यसैगरी, ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ एथलेटिक्सका प्रशिक्षक इन्द्रा मल्लले प्राप्त गरे । उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्पmको अवार्डबाट सहारा क्लब पोखरा सम्मानित भयो ।
यसैगरी, वर्ष उत्कृष्ट खेल पत्रकारतर्पmको अवार्डबाट पत्रकार रोहितराज पराजुली सम्मानित भए । वर्ष उत्कृष्ट खेलकूद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकारतर्पmका अवार्ड विजेताले नगद रु ३५ हजारका साथमा अवार्ड पुरस्कार पाए ।
यसैगरी, ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तर्राष्ट्रिय वरीयताप्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष अवार्डबाट सम्मान गरिएको थियो । मञ्चले विभिन्न सात विधामा अवार्ड वितरण गरेको थियो ।
खेलकूद क्षेत्रमा लागेर देशका लागि योगदान दिने खेलाडी, खेल सङ्घसंस्थालगायतलाई प्रोत्साहित गर्नका लागि मञ्चले हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको छ । खेलकूद विधामा कलम चलाउँदै आएका ७४ जना पत्रकार मञ्चमा आबद्ध छन् ।