प्रस, वीरगंज, २६ वैशाख/
वीरगंज महानगरपालिका वातावरण शाखाले जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र वीरगंज महानगरपालिका अन्तर्गत रहेका ६३ वटा उद्योगबाट श्रीसिया नदी प्रदूषित भएको जनाएको छ ।

शाखा अधिकृत राकेश ऐरले ६३ मध्ये १५ वटा उद्योगमा पानी प्रशोधन केन्द्र स्थापना भएको र बाँकी उद्योगहरूले अहिलेसम्म प्रशोधन केन्द्र जडान नगरेको बताए । वीरगंज महानगरपालिका कार्यालयले श्रीसिया नदी प्रदूषणविरुद्धको अभियान दुई वर्षयता सञ्चालन गरेदेखि केही उद्योगहरूले खाल्डो खनेर प्रदूषित पानी कारखानाभित्र सञ्चय गर्ने गरेको उनले बताए । प्राकृतिक तरीकाबाट केही उद्योगहरूले यस प्रकारका काम शुरू गरेको र केही उद्योगहरूले महानगरको कडाइपछि प्रदूषित पानी नदीमा विसर्जन गर्न बन्द गरेको दाबी गरे ।

उनले अहिले श्रीसिया नदीको पानी धमिलो देखिनुको कारण नदीको तलमा रहेको कालो लेउ बताए । उनले श्रीसिया नदीको पानीको माथिल्लो भाग परीक्षण गर्दा पहिलेजस्तो प्रदूषित नभएको दाबी गरेका छन् । श्रीसिया नदी प्रदूषण गर्ने उद्योगहरूमध्ये मङ्गलवार सञ्चारकर्मीहरू सहितको टोलीलाई लिएर महानगरले स्थलगत अनुगमन गरेको थियो । सो क्रममा वीरगंज महानगर–३२ स्थित अरनिका टेक्सटाइल्स, मारुती पल्प पेपर उद्योग, सिद्धि टेक्सटाइल्स, वीरगंज–३० मरियम लेदर इन्डस्ट्रिज, जीतपुरसिमरा उपमहानगरपालिकाको त्रिवेणी टेक्सटाइल्स, नारायणी लेदरलगायतका उद्योगहरूको निरीक्षण गरिएको थियो ।

सो क्रममा वीरगंज मनपास्थित अरनिका टेक्सटाइल्सले अहिलेसम्म पानी प्रशोधन केन्द्र निर्माण नगरेको, चारवटा ब्लक बनाएर प्रदूषित पानी सञ्चय गरेर खोलामा बगाउने नगरेको सो उद्योगका राकेश अधिकारीले बताए । उनले तीन महीनामा पानी प्रशोधन केन्द्र जडान गर्ने र त्यसको लागि खरीद प्रक्रिया अगाडि बढाएको जानकारी गराए ।

मारुती पल्स एन्ड पेपर्सका सञ्चालक दिपेश अग्रवालले आप्mनो उद्योगले पाँच वर्षदेखि पानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको बताए । दुर्गा पेपर उद्योगमा भने पानी प्रशोधन केन्द्र जडानको प्रक्रियामा रहेको र अहिले सो उद्योगले पनि ब्लक बनाएर पानी सञ्चय गरेकोले खोलामा नबगाउने दाबी गरेको छ । त्रिवेणी टेक्सटाइल्सले पनि प्रदूषित पानी प्रशोधन केन्द्र सञ्चालन गरेको देखिएको थियो । मरियम लेदरले भने शुरूमा एउटा र हाल अर्को गरी दुईवटा पानी प्रशोधन केन्द्र सञ्चालन गरेको पाइएको थियो । नारायणी लेदरले अढाई दशकअगाडि नै पानी प्रशोधन केन्द्र जडान गरे पनि त्यसको प्रयोग भने गरेको छैन । यस उद्योगले पानी प्रशोधन केन्द्र उद्योग विभागलाई झारा टार्ने हिसाबले मात्र सञ्चालन गर्ने गरेको महानगरको भनाइ छ ।

श्रीसिया नदी प्रदूषणमा मन्त्रालयहरूको लापरवाही
श्रीसिया नदी प्रदूषणमुक्त नहुनुमा उद्योग मन्त्रालय, वन तथा वातावरण मन्त्रालय मुख्यरूपमा दोषी देखिएका छन् । उद्योग स्थापनाकै क्रममा अनिवार्यरूपले पानी प्रशोधन केन्द्र जडान गरेको हुनुपर्ने प्रावधान छ । नगरेका उद्योगहरूको हकमा पछि स्थापना गर्नेगरी सम्झौता गरिएको हुन्छ । यो क्षेत्रमा ४० वर्षभन्दा अगाडिदेखिका उद्योगहरू सञ्चालनमा छन् तर अहिलेसम्म १५ वटा उद्योगले मात्र पानी प्रशोधन केन्द्र सञ्चालन गर्नु र अन्यले किन गरेनन् भनेर सोधखोज नगर्नुमा मन्त्रालयहरूको त्रुटि देखिन्छ ।

जबकि उद्योगहरूको वातावरण परीक्षणको लागि वार्षिकरूपमा मन्त्रालय, विभागबाट अनुगमन टोली आउँछन् । एकजना उद्योगपतिले बताए अनुसार मन्त्रालय र विभागबाट आउने कर्मचारीहरूले इमानदारी नदेखाएका कारण अहिलेसम्म पानी प्रशोधन केन्द्र उद्योगहरूमा जडान नभएका हुन् । उनीहरू आउने र अनुगमन गर्ने तथा पानी प्रशोधन केन्द्र नभएका उद्योगहरूलाई चेतावनी दिएर अब आउँदा जडान भएकै हुनुपर्ने सम्झौतापत्र बनाएर जाने गरेका कारण पानी प्रशोधन केन्द्र स्थापना हुन नसकेको हो । लामो समयसम्म पानी प्रशोधन केन्द्र स्थापना नगरेका उद्योगहरूलाई मन्त्रालय, विभागहरूले कारबाई गरेको भए अहिलेसम्म श्रीसिया नदी प्रदूषणमा सहभागी उद्योगहरूले पानी प्रशोधन केन्द्र जडान गरिसक्ने ती उद्योगीले बताए ।

श्रीसिया नदी प्रदूषित गर्ने उद्योगहरू

वीरगंज महानगरपालिका अन्तर्गतका अरनिका टेक्सटाइल्स, सिद्धि टेक्सटाइल्स, ग्लोबल लेदर, नेपाल लेदर, पाना पेपर उद्योग, भास्कर हर्बास्युटिकल्स, अन्नपूर्ण स्टील, बजरङ्ग इलेक्ट्रिकल, जगदम्बा पाइप उद्योग, ज्योति गु्रप, जय स्पिनिङ उद्योग, सनराइज कन्टेनर, तिरुपति बालाजी प्mलोर मिल, सुशील वनस्पति उद्योग, महालक्ष्मी सोल्भेट एन्ड रिफाइनिङ, अन्नपूर्ण रिफाइन तेल उद्योग, मेक्सवेल ग्रिज उद्योग, शिवशक्ति केमोप्लास्ट, शिवशक्ति दाल उद्योग, शिवशक्ति प्याकेजिङ, नारायणी स्ट्रिप, महादुर्गा पूmड इन्डस्ट्रिज, जगदम्बा मेटल, विश्वकर्मा सिमेन्ट, श्री सिमेन्ट, ब्रोसर टेक्सटाइल्स, तराई स्टील, जेन रबर उद्योग, एलाइट स्टील, शुभश्री जगदम्बा सिमेन्ट, त्रिवेणी फिड, त्रिवेणी पेट्रो केमिकल, तिरुपति प्mलोर मिल, चन्दन स्टील, नारायणी दाल उद्योगहरूले उद्योगको प्रदूषित पानी श्रीर्सिया नदीमा विसर्जन गर्छन् ।

यसैगरी, जीतपुरसिमरा अन्तर्गतको त्रिवेणी टेक्सटाइल्स, सिजी आयल एन्ड डेरिभेटिप्स, श्रीकृष्ण आधुनिक दाल उद्योग, सौरभ पूmड, त्रिवेणी सिन्थेटिक उद्योग, त्रिवेणी स्पिनिङ, त्रिवेणी दाल मिल, शिवशक्ति दाल प्याकेजिङ, शिवशक्ति सिनो इन्डस्ट्रिज, फच्र्युन आयल, नारायणी रोलिङ, इन्टरनेशनल सिमेन्ट उद्योग, सर्वोत्तम स्टील, नारायणी इस्पात, जगदम्बा कङ्क्रिट पनि रहेका छन् ।

प्रदूषण कम गर्ने उद्योगहरूः

जीतपुरसिमरा र वीरगंज महानगरपालिका अन्तर्गतका श्रीसिया नदीसँग जोडिएका उद्योगहरूमध्ये रसायनयुक्त पानी प्रयोग गर्ने उद्योगहरूमा मारुती पल्प पेपर, हिमालयन डिस्टिलरी, डाबर नेपाल, ब्रिटानिया, रुकमणि ग्रैनाइट, अन्नपूर्ण स्टील, बजरङ्ग इलेक्ट्रिक, जगदम्बा पाइप, ज्योति गु्रप, जय स्पिनिङ, तिरुपति बालाजी प्mलोर मिल, सुशील वनस्पति, श्रीकृष्ण आधुनिक दाल उद्योग, सौरभ पूmड इन्डस्ट्रिज, त्रिवेणी सिन्थेटिक, त्रिवेणी स्पिनिङ, त्रिवेणी दाल मिल, शिवशक्ति दाल प्याकेजिङ, शिवशक्ति सिनो, जगदम्बा सिमेन्ट, नारायणी रोलिङ, मेक्सवेल ग्रीज, शिवशक्ति केमोप्लास्ट, शिवशक्ति दाल, शिवशक्ति प्याकेजिङ, नारायणी स्ट्रिप, महादुर्गा पूmड, इन्टरनेशनल सिमेन्ट, सर्वोत्तम स्टील, नारायणी इस्पात, जगदम्बा कङ्क्रिट, जगदम्बा मेटल, विश्वकर्मा सिमेन्ट, श्री सिमेन्ट, ब्रोसर टेक्सटाइल्स, तराई स्टील, जेन रबर उद्योग, एलाइट स्टील, शुभश्री जगदम्बा सिमेन्ट, त्रिवेणी पूmड, त्रिवेणी पेट्रोकेमिकल, तिरुपति प्mलोर मिल, वन्दना स्टील, नारायणी दाल उद्योग, ओम चावोबिरो तेल एन्ड फिड उद्योग रहेका छन् ।

यसैगरी, श्रीसिया नदीलाई अहिलेसम्म प्रदूषित गर्ने उद्योगहरूमा अरनिका टेक्सटाइल्स, सिद्धि टेक्सटाइल्स, त्रिवेणी टेक्सटाइल्स, मरियम लेदर, ग्लोबल लेदर, नेपाल लेदर, नारायणी लेदर, मोसरफ लेदर, पाना पेपर उद्योग, दुर्गा पल्प एन्ड पेपर उद्योग, सिजी आयल एन्ड डेरिबेटिप्स, भास्कर हर्बास्युटिकल्स, महालक्ष्मी सोल्भेन्ट एन्ड रिफाइनिङ, अन्नपूर्ण रिफाइनरी तेल, फच्र्युन आयल, नारायणी आयल रिफाइनरी उद्योगहरू रहेको वीरगंज महानगरको वातावरण शाखाले जनाएको छ ।

वातावरण शाखा अधिकृत ऐरले उद्योग मन्त्रालय, वन मन्त्रालय, वातावरण मन्त्रालय र प्रदेश सरकारको मन्त्रालयहरूले यस विषयमा चासो राख्नुपर्नेमा नराखेको र महानगर एक्लैले यो काम गर्न नसक्ने बताए । उनले वातावरण परीक्षण रिपोर्ट केन्द्र र प्रदेश स्तरबाट प्रदान गरिने र त्यसको अनुगमन गर्ने मन्त्रालयहरू पनि सोही अन्तर्गत रहेको तर महानगरले यसको दायित्व निर्वाह गर्नुपर्ने अवस्था रहेको बताए । उनले महानगरले प्रदूषित गर्नेहरूलाई दण्डित गर्नेबाहेकको काम गर्न नसक्ने प्रस्ट्याए ।

महानगरले यसअघि पाँचवटा उद्योगलाई तीन/तीन लाखको दरले दण्डित गरेको थियो । जीतपुरसिमरा उपमनपाले भने यससम्बन्धी विनियम बनाउन नसकेकोले दण्डित गरेको छैन । श्रीसिया नदीको मुहान रामवनबाट शुरू भएर जीतपुरसिमरा, परवानीपुर गाउँपालिका र वीरगंज महानगरपालिका हुँदै भारत गएको छ । वीरगंज महानगर–३२ मा रहेको सिद्धि टेक्सटाइल्सबाट श्रीसिया नदी प्रदूषण शुरू भएको छ । त्यसअघिको श्रीसिया नदीमा अहिले पनि पूर्ववत्रूपमा निश्चल तरीकाले बगिरहेको छ । त्यहाँ जलचरहरू पनि देखिन्छन् । त्यसपछिको क्षेत्रमा प्रदूषणको कारण श्रीसिया दुर्गन्धित र पानी प्रयोगयोग्य छैन । करीब चार दशकदेखि श्रीसिया नदी प्रदूषणको शिकार हुँदै आएको छ । यो नदी प्रदूषणमुक्त गर्न विभिन्न चरणमा विभिन्न खाले अभियान, आन्दोलन, सचेतनामूलक कार्यक्रमहरू हुँदै आएका छन् । श्रीसिया नदी प्रदूषणको कारण छिमेकी भारत, रक्सौलका नागरिकहरूले बेलाबखत सरिसवा नदी बचाउ अभियान चलाउँदै आएका छन् ।

वीरगंज महानगर प्रमुख राजेशमान सिंह भएपछि उनले दुई वर्ष अगाडिदेखि श्रीसिया नदी प्रदूषणमुक्त गर्ने अभियान चालेका भएपनि अहिलेसम्म सफल हुन सकेका छैनन् । उनले गत वर्षकै छठपूजामा श्रीसिया नदी प्रदूषणमुक्त गर्ने घोषणा गरेका थिए । त्यो हुन सकेन । यसअघिका स्थानीय प्रशासनले छठपूजालाई लक्षित गरेर श्रीसिया नदीसँग जोडिएका उद्योगहरूलाई प्रदूषित पानी एक/दुई साताको लागि नबगाउन आग्रह गर्दै आएको र छठपछि पुनः श्रीसिया नदी प्रदूषित हुने गरेको थियो । यसपटक भने महानरपालिका छठपछि पनि यो अभियानमा जोडिएको छ । तर उद्योगहरूको अटेरीपनले महानगरपालिकाले श्रीसिया नदी प्रदूषणमुक्त गर्न अझ समय लाग्ने देखिएको छ ।

नगरप्रमुख सिंहले वैशाख २५ गतेसम्मको समयसीमा दिएका थिए । यो अवधिमा पहिले जडान भएका १५ वटा उद्योगको पानी प्रशोधन केन्द्रबाहेक अन्य उद्योगले पानी प्रशोधन केन्द्र जडान गरेका छैनन् । केही उद्योगहरूले प्राकृतिक उपचार विधि अपनाउँदै खाल्डो खनेर उद्योगभित्रको प्रदूषित पानी सञ्चय गरेको छ । तर यो दीर्घकालीन समाधानको उपाय होइन । किनभने उद्योगबाट दैनिकरूपमा प्रदूषित पानी निस्किन्छ र त्यसलाई अहिले बनाइएको उद्योगहरूको खाल्डोमा सञ्चय गरी लामो समय राख्न सकिंदैन । त्यसैले उद्योगीहरूले अवसर जुराएर महानगरको आँखा छल्दै श्रीसिया नदीमा प्रदूषित पानी विसर्जन गर्नुको विकल्प छैन । सबै उद्योगले पानी प्रशोधन केन्द्र जडान गर्न नसके पनि नजीक जोडिएका उद्योगहरूसँग सहकार्य गरेर संयुक्त लगानीमा पानी प्रशोधन केन्द्र जडान गरी प्रशोधित पानी मात्र श्रीसिया नदीमा विसर्जन गरेको खण्डमा नदी पुरानो लयमा फर्किने आशा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here