प्रस, रौतहट, २४ वैशाख/

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले १३ वर्ष पहिला शिलान्यास गरेको बाग्मती पुल निर्माण गर्ने कम्पनीले निर्माण कार्य छाडी भाग्न थालेपछि स्थानीयवासीहरूले डोजर र ट्रक कब्जामा लिएका छन् ।

वाइपी महालक्ष्मी विकास जेभीले ठेक्का सकार गरी पुल निर्माण गर्नुको साटो बालुवाको सडक बनाइ करोडौं रकम अनियमितता गरेर अहिले फरार हुन थालेपछि स्थानीयले डोजर र ट्रक कब्जामा लिएका हुन् ।

बालुवाले पुरिएको सडक भत्केको छ । सोमा व्यापक अनियमितता भएको आरोप छ । वाइपी महालक्ष्मी विकास जेभी र सम्बन्धित निकायको संलग्नतामा रु तीन करोडको लागतमा बालुवाको सडक निर्माण भएको बताइएको छ ।

दुई महीनादेखि निर्माण कार्य बन्द गरेका ठेकेदारले निर्माण कार्यमा प्रयोग हुने सवारी लैजान खोज्दा सवारीसाधन कब्जामा लिएको स्थानीय नेता जितु ठाकुरले बताए ।

स्थानीयवासीले पटकपटक आन्दोलन गरी पुल निर्माणको माग गर्दै आएका थिए । बाग्मती पुल निर्माण नहुँदा स्थानीयवासीहरूले गत असोजमा विरोध जुलुससहित जिल्ला प्रशासन कार्यालय, रौतहटमार्फत भौतिक तथा पूर्वाधार मन्त्रालयमा ज्ञापनपत्र पठाएका थिए ।

बाग्मती नदीले बर्सेनि मधेसमा क्षति पु¥याउँदै आएको छ । नेपालको प्रमुख सडक मेचीदेखि महाकालीसम्म राणाकालीन हुलाकी सडकको बाग्मती नदीमा पुल नहुँदा आवतजावतमा कठिनाइ भइरहेकोले पुल निर्माण गर्न पटकपटक माग हुँदै आएको थियो ।

दुर्गाभगवती गाउँपालिका–५ बडहर्वा टोलस्थित बाग्मती नदीमा पुल निर्माणका लागि पप्पु कन्स्ट्रक्सनले ठेक्का सकार गरी पुलको पिलर मात्र बनाइ अधूरो छोडेर भागेको थियो ।

संसदीय क्षेत्रको निर्वाचनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले जनतासमक्ष पुल निर्माणको लागि प्रतिबद्धता जनाएका थिए ।

 तर पूर्वप्रम नेपालले अहिलेसम्म पुल निर्माणका लागि पहल नगरेको स्थानीयको आरोप छ । पप्पुले लामो समयसम्म पुल निर्माण नगरेको र यसबीचमा डुङ्गा दुर्घटना भएर केही मानिसहरूको मृत्यु भएपछि पप्पुको ठेक्का रद्द गरेर अर्काेलाई दिइएको थियो । अर्का ठेकेदार वाइपी महालक्ष्मी विकास जेभीले पनि निर्माण कार्य पूरा नगरेरै भाग्न थालेपछि स्थानीयले ट्रक र डोजर कब्जामा लिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here