प्रस, परवानीपुर, १८ वैशाख/
नेकपा एमाले, पर्साको नवौं जिल्ला अधिवेशन जारी छ । हिजो सोमवार उद्घाटन सत्र सकिएर मङ्गलवार बिहान ८ बजेदेखि बन्दसत्र शुरू भएको छ ।

बन्दसत्रमा जिल्ला कमिटी र पालिका कमिटीको सन्दर्भमा पार्टीको विधान, विधि, प्रक्रियाबारेमा सहभागी प्रतिनिधिहरूलाई जानकारी गराइएको थियो । आज दुई चरणमा बन्दसत्र चलेको थियो । बन्दसत्रबाट अडिटरले पेश गरेका आर्थिक प्रतिवेदन र पर्सा संयोजक डा विश्वम्भर शर्माले प्रस्तुत गरेका राजनीतिक, साङ्गठनिक प्रतिवेदन पारित भएको थियो । यसैगरी, बन्दसत्रका अध्यक्षमण्डलका अध्यक्ष पर्सा इन्चार्ज अच्युत मैनालीको अध्यक्षतामा निर्वाचन कमिटी गठन भएको छ ।

यसैबीच, निर्वाचन कमिटीले आज साँझ निर्वाचनसम्बन्धी सूचना जारी गरेको छ । सो अनुसार भोलि बुधवार वैशाख १९ गते अन्तिम मतदाता नामावली प्रकाशन, दाबी, विरोध, उम्मेदवार दर्तासम्मको कार्य हुनेछ । वैशाख २० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र साँझ ५ देखि राति ९ बजेसम्म निर्वाचन हुने तालिका छ । यसैगरी, मतगणना वैशाख २१ गते बिहान ७ बजेदेखि शुरू हुने निर्वाचन अधिकृतद्वारा जारी सूचनामा उल्लेख छ । यसबीचमा जिल्ला तथा पालिका कमिटीहरू सर्वसम्मत तरीकाबाट चयन गर्ने गृहकार्य पनि जारी रहेको एकजना स्थानीय नेताले प्रतीकलाई बताए । जिल्ला कमिटीको अध्यक्ष पदमा तीनजना आकाङ्क्षी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here