प्रस, वीरगंज, १४ वैशाख/
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश (एनपी) साउदले अहिले पनि नेपाली जनताको आशा र भरोसा नेपाली काङ्ग्रेसमा नै रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन पर्साले शनिवार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा केस साउदले नेका सबैभन्दा ठूलो दल रहेर प्रभावकारी तरीकाले क्रियाशील रहेको दाबी गरे । उनले सङ्घ र प्रदेश दुवैमा नेका अहिले पनि सबैभन्दा ठूलो दल रहेको बताए । सङ्घमा सबैभन्दा बढी सांसद र प्रदेशमा पाँच प्रदेशमा ठूलो दल भएकोले अहिले पनि राजनीतिमा नेकाको निर्णायक र महŒवपूर्ण भूमिका रहेको र यसलाई कसैले बेवास्ता गर्न नमिल्ने बताए । उनले नेकालाई बेवास्ता गरेर देशको विकास नहुने र यस्तो कुत्सित मनसाय नराख्न सुझाए ।
उनले आफ्नो नेकाले जहिले पनि देशमा स्वच्छता र पारदर्शिताको पक्षमा काम गर्दै आएको दाबी गरे । उनले वर्तमान गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपको छानबीन सरकारी तहबाट सम्भव नभएकोले नै संसदीय समिति बनाउन माग गरिएको बताए । उनले इलाम र बझाङमा आज भएको उपनिर्वाचनमा नेका उम्मेदवार जित्ने दाबी गरे । उनले नेका नेतृत्वमा संविधान लागू भएको र नेकाले नै यसको कार्यान्वयनको जिम्मेवारी वहन गर्ने बताए । उनले नेका नेतृत्वमा सम्पन्न दुईवटा निर्वाचनमा पार्टीले हार बेहोरे पनि देशको लागि काम गर्न नछाडेको बताए ।
नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा केस अजयकुमार चौरसिया, नेका पर्साका सभापति जनार्दन सिंह क्षत्री, उपसभापति रामनारायण कुर्मी, सचिव इम्तियाज आलम, प्रदेशका पूर्वमन्त्रि ओमप्रकाश शर्मा र प्रदेशसभा सदस्य श्याम पटेललगायतको सहभागिता थियो ।