चैत हावाहुरी चल्ने महीना हो । बर्सेनि यो महीनामा हावाहुरी चल्छ र सँगै आगलागीका घटना पनि हुने गरेका छन् । कुनै बेला पर्सा जिल्लाको अठराह सुगौली हाल वीरगंज महानगरपालिका–२६ सुगौलीमा व्यापक आगलागी हुन्थ्यो । यस्तो कुनै पनि वर्ष हुन्थेन सो गाउँमा आगलागी नभएको होस् । आगलागीका घटना पनि अचम्मको हुन्थ्यो । एकपटकमा चार सयसम्म घरमा आगलागीका घटना भएको तथ्याङ्क छ । सुगौलीका मानिसहरू प्रायः घर बनाउने, धारा जडान गर्ने काममा तीन दशक अघिदेखि सक्रिय थिए । बिहान, दिउँसो, साँझ र राति जुनसुकै बखत आगलागीका घटना त्यहाँ हुन्थ्यो । त्यहाँका मानिसहरू घरबाहिर काममा निस्कँदा घरको चिन्तामा हुन्थे कि कुन बखत आगलागीको सूचना आउँछ र घरतर्फ कुद्नुपर्छ । भूतले आगो लगाउने गरेको कुरा पनि बाहिरिएको थियो । अन्धविश्वासका कारण उतिखेर टोलमा रहेका दलितहरू मुहसर, चमार, दुसाधलाई गाउँ निकाला पनि गर्ने काम पनि भएको थियो ।
तन्त्र विद्या जान्नेलाई बोलाएर पशुबलि दिएर गाउँमा भोज गर्ने, पशुको हाड सङ्कलन गरेर त्यसलाई गाडेर भूत भगाउने जुक्तिहरूको प्रयोग गरिएको थियो । तर यी सब विद्या अपनाउँदा पनि आगलागीका घटना रोकिएन । एक वर्ष हुन्थेन भने अर्काे वर्ष आगलागी हुन्थ्यो । चैत महीनाअगावै त्यहाँका मानिसहरू घरबाट बाहिर खेतमा सामानसहित बस्ने गर्थे । अहिले त्यो अवस्था छैन । निरन्तरको आगलागी फुस, खपडा आदि घरमा हुने तर पक्की घरमा नहुने देखेर त्यहाँ एकपछि अर्काे गरी पक्की घरहरू बन्न थाले अहिले नतीजा सबै सामु छ । सुगौलीमा आगलागीका घटना सुन्न पाइएको छैन । विद्युत् सर्ट सर्टिकबाट हुने आक्कलझुक्कलबाहेक । सुगौलीवासीले आगलागीबारेमा अन्धविश्वास पालेर बसेका थिए । त्यतिखेर सञ्चारको यत्रो जगजगी पनि थिएन । सचेतनाका काम वन, वडा आदिबाट हुँदैनथियो । रेडियो, एफएम, टेलिभिजनमा मानिसहरूको यत्ति पहुँच बनिसकेको थिएन । साहु महाजन, धनाढ्यको पङ्क्तिमा रहेकाहरूबाहेक आम मानिसको पक्की घर पनि थिएन । फुस, खपडाको छानो भएका घरहरूको बोलवाला थियो र आगलागी पनि त्यस्तै घरमा हुन्थ्यो । अहिले पनि आगलागीका घटना प्रायः फुस, काठ र खपडाका घरहरूमा हुने गरेको छ । मधेस प्रदेशका आठ जिल्लामध्ये अहिले धेरैजसो आगलागीका घटना दलित समुदाय भएको बस्तीमा हुँदै आएको छ । उनीहरू अहिलेसम्म तीन तहका सरकारबाट उपेक्षित छन् ।
सरकारले ल्याएको जनता आवास कार्यक्रममा उनीहरू पर्न सकेनन् । किनभने अधिकांश दलित अहिले पनि भूमिहीन छन्, उनीहरूले भोग गर्दै आएका जग्गा पनि उनीहरूको नाममा छैन । जग्गा नभएकाहरूलाई जनता आवास कार्यक्रमले छँुदैन । केही संस्थाहरूले थोरै सङ्ख्यामा विभिन्न स्थानहरूमा पक्की घर बनाएका छन् । तर प्रदेशमा लाखौं सङ्ख्यामा रहेका यो समुदायका मानिसहरू थोरै मात्र त्यसमा अटाउन सकेका छन् । शिक्षामा पहुँच बनिसकेको छैन, बेरोजगारीको समस्यामा जेलिएका छन्, आर्थिक सङ्कटका शिकार छन्, दैनिक ज्यालामजदूरी गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थाका दलितहरूको जीवनशैलीमा परिवर्तन आवश्यक छ । यस्तो अवस्थामा उनीहरूको बसाइ फुस, बाँसकै घरमा भइरहेको छ र आगलागीका अनेक कारणमध्ये प्रमुख गरीबी पनि हो भन्न सकिन्छ ।