प्रस, वीरगंज, २६ चैत/
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका आठ शाखामध्ये छवटा शाखाले सदस्यताको नामावली नटुङ्गिएसम्म शाखा अधिवेशन नगर्ने निर्णय गरेको छ ।
आइतवार जनकपुरमा भएको छवटा शाखा अध्यक्षको बैठकले नेपाल पत्रकार महासङ्घको लुम्बिनी घोषणापत्र अनुसार सदस्यता शुद्धीकरण अभियान अन्तर्गत नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाहरूले पुरानो सदस्यको नवीकरण तथा नयाँ सदस्यताका लागि सिफारिश गरेकामा सोको टुङ्गो नै नलगाएर केन्द्रले अधिवेशनको मिति तोकेकोमा आपत्ति जनाउँदै अधिवेशन नगर्ने निर्णय गरेको पर्सा शाखा अध्यक्ष अनुप तिवारीले बताए ।
उनले सदस्यता सुदृढीकरण अभियान सञ्चालन गरेर नयाँ सदस्यताको आवेदन सिफारिश गरेर पठाएकामा लामो समयदेखि निर्णय नभएको र यो अवस्थामा अधिवेशन गर्दा विवाद हुने र सदस्यहरूको हकमा पनि न्याय नहुने देखेर छवटा शाखाका अध्यक्षले केन्द्रले सुदृढीकरण अभियान र नयाँ सदस्यताबारेमा निर्णय गर्नुपर्ने अनिमात्र अधिवेशनको मिति तोक्नुपर्ने आफूहरूको अडान रहेको बताए । छवटा शाखाका अध्यक्षमा अनुप तिवारी (पर्सा), रेशम तिवारी (बारा), प्रेमचन्द्र झा (रौतहट), टङ्कबहादुर क्षत्री (सर्लाही), श्रवण देव (सप्तरी) र मनोजकुमार बनैता (सिराहा) छन् ।
यसैबीच, नेपाल प्रेस युनियन पर्सा शाखाले सोमवार नेपाल पत्रकार महासङ्घ पर्सा शाखा अध्यक्ष तिवारीलाई सदस्यता सुदृढीकरण र नयाँ सदस्यतामा विवाद रहेकाले युनियनले शुरूदेखि यसमा आपत्ति जनाउँदै आएकामा आफ्नो माग सम्बोधन नगरी अधिवेशन नगर्न आग्रह गरेको छ ।
युनियनका अध्यक्ष विजय महतोले अध्यक्ष तिवारीलाई ज्ञापन दिंदै आफ्ना माग सम्बोधन नभएर चरणबद्ध आन्दोलनको चेतावनी पनि दिए । कार्यक्रममा युनियनका क्रान्ति साह, कपिलदेव यादव, इरफान अली, सञ्जय गुप्ता, राकेश चौरसियालगायतको सहभागिता थियो ।