प्रस, सेढवा, २३ चैत/
प्रभावकारी सेवा प्रवाहका लागि विभिन्न कार्यालयमा जडान गरिएका सिसिटिभी क्यामरा मरम्मतको अभावमा जीर्ण भएको छ ।
सेवा प्रवाह प्रभावकारी तथा शिक्षक, विद्यार्थीको निगरानीका लागि स्थानीय तहले सिसिटिभी क्यामरा जडान गरेको थियो । तर अहिले अधिकांश सिसिटिभी सञ्चालनमा छैन ।
ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवापरसौनी, छिपहरमाईलगायत गाउँपालिकाहरूले गापाको कार्यपालिका कार्यालयको साथै माध्यमिक तहका विद्यालयहरूमा सिसिटिभी क्यामरा जडान गरेका थिए । तर अहिले अधिकांश सिसिटिभी क्यामरा बिग्रेर बन्द छ ।
सखुवापरसौनी गापा–१ स्थित नेरामावि सिरहीसथवलका प्रधानाध्यापक दिलीप बुढाथोकीले जडान गरिएका सिसिटिभी क्यामरा केही महीनामैं बिग्रेर बन्द भएको मरम्मत गरी सञ्चालनमा ल्याउनका लागि मौखिकरूपमा सम्बन्धित निकायलाई जानकारी गराए पनि कुनै पहल नभएको उनले बताए ।
पटेर्वासुगौली गापा–४ नेरामावि दापसुगौलीका रामाशङ्करप्रसाद राउतले विद्यालयमा जडान भएका क्यामरा सञ्चालनमा नरहेको बताए । स्थानीय तहको दोस्रो निर्वाचनको मतगणनाको क्रममा मतदान अधिकृतले सेटअप बक्स लगेको र हालसम्म फिर्ता नआएकोले सञ्चालनमा आउन नसकेको बताए ।
ठोरी गापा–५ स्थित ज्ञानवाटिका मावि सुवर्णपुरमा जडित दुईवटा क्यामरा कसैले फुटालेको शिक्षकले बताए । जीराभवानी गापा–२ स्थित नेरामावि सेढवा बिर्ताका प्रअ खेमराज महतोले विद्यालयको कम्पाउन्ड अधूरो निर्माण भएकोले बाहिरका व्यक्तिले सिसिटिभीमा क्षति पु-याएको आरोप लगाएका छन् । उनले कक्षा कोठामा जडान गरिएका क्यामरा सञ्चालनमा रहेका बताए ।
पटेर्वासुगौली गापाका सूचना प्रविधि अधिकृत सोलेन्द्र पंजियारले कार्यालयका क्यामराहरू सञ्चालनमा रहेको बताएका छन् । यसका साथै वडा नं–२ रङ्गपुरमा जडान गरिएका क्यामरा पनि सञ्चालनमा रहेको र प्राविधिक सामग्री प्रहरी चौकी रङ्गपुरको कार्यालयमा रहेको पंजियारले बताए ।
सखुवापरसौनी गापास्थित दीपनारायण नमूना विद्यालय औराहा पचगावाँका प्रधानाध्यापक शिवनाथ चौधरीले विद्यालयको स्रोतबाट निगरानीका लागि सिसिटिभी क्यामरा जडान गरिएको बताए । उनले विद्यालय परिसर र कक्षाकोठामा गरी ४२ वटा क्यामरा जडान रहेको बताए ।