प्रस, रौतहट, २३ चैत/
मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले करार शिक्षकको नवीकरण तथा नियुक्तिमा अनियमितता गरेको आरोप छ । आव २०८०/८१ को लागि करार शिक्षक नवीकरण शिक्षा समितिको बैठकबाट गर्नुपर्नेमा निर्णय नै नगराइ आर्थिक प्रलोभनमा परी निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले नवीकरण गरेको वडा नं ९ का अध्यक्ष तथा शिक्षा समितिका सदस्य श्यामकिशोर साहले आरोप लगाएका छन् ।
निमित्त प्रप्रअ साहले ३९ जना करार शिक्षकको नवीकरण र तीनजना करार शिक्षकलाई नियुक्त गरी आर्थिक अनियमितता गरेको वडाध्यक्ष साहको आरोप छ ।
मावि लक्ष्मीनियामा मुकेश पटेल, साआवि चिरचिरियामा जयप्रकाश शर्मा र मावि गम्हरियामा आमोदप्रसाद यादवलाई करार शिक्षकमा नियुक्ति दिएर निप्रप्रअ साहले अनियमितता गरेको वडाध्यक्ष साहले बताए ।
शिक्षक करारमा नियुक्त गर्दा सूचना प्रकाशन गरी प्रतिस्पर्धाको आधारमा नियुक्त गर्नुपर्नेमा आफन्त, नातागोता र आर्थिक प्रलोभनमा अवैध तरीकाबाट शिक्षक नियुक्ति गरेको बताइन्छ ।
२०८० साउन २९ गते शिक्षा समितिका अध्यक्ष रीनाकुमारी साहको अध्यक्षतामा बैठक राखे पनि सो दिन बैठकबाट कुनै निर्णय नभएको समितिका सदस्य एवं वडाध्यक्ष साहले बताए । मौलापुर नपाको शैक्षिकस्तर घट्दै जानुमा अयोग्य शिक्षक नियुक्ति रहेको उनले दाबी गरे ।
यस सम्बन्धमा मौलापुर नगर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले कार्यपालिकाको निर्णयबाट करार शिक्षकको नवीकरण तथा नयाँ करार शिक्षक नियुक्त गरेको बताए । उनले वडाध्यक्ष साहले लगाएको आरोपमा कुनै सत्यता नभएकोे बताए ।