प्रस, वीरगंज, १८ चैत/
जिल्ला प्रहरी कार्यालय, पर्साले अनलाइन चिठा र किनमेलको प्रलोभन देखाएर नेपाली तथा विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा सक्रिय तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
जिप्रका, पर्साका प्रवक्ता कुमार विक्रम थापाले शनिवार दिउँसो ३ बजे सूचनाको आधारमा वीरगंज महानगर–१५ लक्ष्मणवास्थित नन्दु पटेलको घरमा छापामारी गरेको र अनलाइन शपिङ र चिठाको नाममा ठगी गर्ने उद्देश्यले सञ्चालित सूचना प्रविधिका सामानहरू बरामद गरेको जनाएको छ ।
प्रवक्ता थापाले कम्प्युटर डेस्कटप सिपियु १२० थान, मनिटर ११८ थान, मोबाइल ३६, जियो भारतीय सीमकार्ड १३ थान, ल्यापटप चार थान, एक थान प्रिन्टर, विभिन्न बैंकका तीनवटा एटिएम कार्ड, किबोर्ड २६ थान, पाँचवटा इन्टरनेट स्वीच, दुईवटा राउटर, दुईवटा मिनी इन्भर्टर, भारतीय र नेपाली नम्बरका दुईवटा गाडी, मलेशियाको मुद्रा ३७ रिङ्गिट, नेरु ४३ हजार र कम्बोडियाली मुद्रा ३५ सयसहित चिनियाँ नागरिक लियु गियु काइ, वाङ बोहान र झ्याङ झियोलाई पक्राउ गरिएको बताए । उनले अभियुक्तहरूले कल सेन्टर सञ्चालन गरेर कर्मचारीहरू राखेको र नेपाल, भारत, पाकिस्तानलगायतका देशका नागरिकहरूलाई सामाजिक सञ्जाल तथा टेलिफोनमार्पmत ठगी गर्दै आएको देखिएको बताए ।
उनले यसरी ठगिएका रकम भारतका विभिन्न बैंकमार्पmत कारोबार हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी गराए । ती देशका नागरिकहरूलाई एजेन्टको रूपमा परिचालन गरिएको र ठगीधन्दा गरिएको देखिएको प्रवक्ता थापाले बताए । पक्राउ परेका चिनियाँ नागरिकहरूसँग चिनियाँ भाषामा संवाद गर्न तत्काल नसकिएको र अनुसन्धानमा सहयोग गर्न चिनियाँ भाषाविद्हरू बोलाइएको बताए । उनले घटनाबारेमा थप अनुसन्धान भइरहेको बताए ।