प्रस, वीरगंज, १० चैत/
पर्सा र बाराका तारे होटलहरूमा सञ्चालित क्यासिनोहरू अहिले नेपाली ग्राहकको आडमा चलिरहेका छन् । नेपालीहरूलाई क्यासिनो प्रवेशमा रोक छ तर बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको पाँचतारे होटल इच्छामा सञ्चालित स्माइल कलेक्सन प्रालि, पर्सा जिल्लाको वीरगंज महानगरमा रहेका क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्स कलेक्सन प्रFलि, सुरज होटलको एक इन्टरनेशनल र होटल भिस्वामा रहेको सिएमजी क्लब क्यासिनोमा जुवा खेल्ने अधिकांश नेपाली रहने गरेका छन् ।
नेपालीहरूलाई प्रवेश निषेध रहेका यी क्यासिनोहरूमा भारतीयलगायत विदेशीहरूले पहिचानपत्रसहित प्रवेश गर्न पाउने व्यवस्था छ । नेपाली वर्जित भएपनि क्यासिनो चलाउन नेपालीहरूलाई प्रवेश दिने गरिएको छ । अहिले यी क्यासिनोहरूका ग्राहकमा ८० प्रतिशतभन्दा बढी नेपाली हुने गरेको स्रोतको दाबी छ । पर्सा र बाराका क्यासिनोहरूमा नेपालीहरूको निर्बाध प्रवेश प्रहरी प्रशासनसँग लुकेको छैन ।
पर्सा प्रहरीका प्रमुख कुमोध ढुङ्गेलले पहिलो पत्रकार सम्मेलनमा क्यासिनोमा सुधार गरिने, नेपाली प्रवेशमा पूर्ण रोक लगाउने उद्घोष गरेका थिए । तर सोही दिन राति होटल भिस्वाको सिएमजी क्लब क्यासिनामा पर्सा प्रहरीलाई त्यहाँका बाउन्सरहरूले प्रवेश गर्न दिएनन् । क्यासिनो सञ्चालकले नेपालीहरूलाई चोरबाटोबाट बाहिर निकालेका थिए ।
प्रहरीलाई रोकेपछि क्यासिनोका चारजना कर्मचारीलाई पक्राउ गरिएको थियो । प्रहरीलाई समेत प्रवेश गर्न नदिने गरी क्यासिनोहरू सञ्चालनमा छन् भने त्यसका सञ्चालकहरू कति शक्तिशाली छन् बारे प्रहरी प्रमुखलाई समेत जानकारी छैन । क्यासिनोहरूमा जुवा खेली धेरै नेपाली घरबारविहीन भएका छन् ।
पर्साका प्रउ ढुङ्गेललाई क्यासिनो बन्द गराउन अथवा नेपाली प्रवेशमा रोक लगाउन दिनहुँ दबाब बढ्दै गएको छ । लाखौं, करोडौं रुपैयाँ हारी थुप्रै नेपाली बिल्लबाठ भएका मौखिक उजूरीको प्रहरीमा चाङ छ ।
नेपालीलाई गैरकानूनी रूपमा प्रवेश गराउँदै आएका यहाँका क्यासिनोहरूले क्यासिनो सञ्चालनका लागि आधुनिक मेशीनबाट जुवा खेलाउनुपर्ने नियमावलीको पनि उल्लङ्घन गर्दै आएका छन् ।
क्यासिनोहरूमा अवैध तरीकाले तास पनि खेलाइन्छ । तासका खेलहरूमा फ्लास, किट्टी, म्यारिजलगायत रहने गरेको एकजना नेपाली ग्राहकले प्रतीकलाई जानकारी गराएको छ ।
बैंककर्मी, बीमाकर्मी र विभिन्न व्यापार–व्यवसायमा रहेका व्यक्तिहरूका साथै सरकारी कर्मचारीहरू र सर्वसाधारणहरूको अहिले क्यासिनोमा जुवा खेल्नु दैनिकी बनेको छ । क्यासिनोमा नेपालीहरूलाई प्रवेश नगराउन सम्बन्धित क्यासिनो सञ्चालकहरू जिम्मेवार हुनुपर्नेमा उनीहरूले नेपालीहरूलाई नै मुख्य ग्राहक बनाएका छन् ।
क्यासिनोमा प्रहरी, प्रशासनले प्रभावकारी अनुगमन नगरेकोमा प्रहरी, प्रशासनकै मिलेमतोमा नेपालीलाई सहज प्रवेशको वातावरण बनाएको आरोप लागेको छ ।