कुनै पनि अपराधमा संलग्न भएर बाल सुधारगृह पुगेका बालबालिकालाई असल व्यवहार सिकाउने, असल चरित्र निर्माण गर्ने भनिए पनि त्यहाँ रहेका बालबालिकाले पोषणयुक्त खानादेखि उपयुक्त वातावरण नपाएका विभिन्न अध्ययनले देखाएका छन् । अपराधमा संलग्न भई सुधारगृहमा रहेका बालबालिकालाई हौसला र प्रेरणा दिन उमेर समूह अनुसार उनीहरूलाई व्यवस्था मिलाउनुपर्नेमा त्यसो हुन सकेको छैन । धेरैजसो बाल सुधारगृहमा बालबालिकालाई दिइनुपर्ने आधारभूत सुविधाका साथै मनोपरामर्श नदिइँदा बालबालिकामा सुधारका लक्षण कम हुँदै गइरहेका छन् । बालबालिकाको उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पु¥याएपछि सुधारगृहहरूमा बालबालिकाको सङ्ख्या बढेको देखिन्छ । यस्तै उमेर समूहका बालबालिका आपराधिक घटनामा संलग्न भएर बाल सुधारगृह पुगेका देखिन्छन् । ती बालबालिका सुधारगृहमैं रहँदा १८ वर्ष लागेमा उनीहरूलाई छुट्टै राख्नुपर्ने व्यवस्था छ । तर भौतिक संरचनाको अभावका कारण १८ वर्षमुनि र १८ वर्षमाथि दुवै समूहलाई एकै स्थानमा राखिंदै आइएको छ ।

बाल सुधारगृहको उद्देश्य अनुसार काम हुन सकेको छैन । बालबालिकालाई सुधार्ने हो भने उनीहरूलाई विभिन्न सीप सिकाउने, उचित शिक्षा दिने र मनोपरामर्श दिने काम अनिवार्य छ । राजनीतिक पद्धति बदलिएर लोकतन्त्र आए पनि लोकतन्त्रको मर्म तथा भावना अनुसार कारागार एवं बाल सुधारगृहमा सुधार हुन सकेको छैन । बालबालिकालाई सुधार गर्नका लागि उनीहरूलाई छुट्टै भवनमा राखेर मात्रै हुँदैन । त्यसका लागि संरचनादेखि विज्ञको व्यवस्थालगायत कुनै पनि कुरामा ध्यान दिइएको पाइँदैन । वीरगंजस्थित बाल सुधारगृह त्यसको एउटा उदाहरण बनेको छ । समाज कल्याण केन्द्र रहेको र अनाथ बालबालिकाहरूको लागि बनाइएको पुरानो संरचनामा अहिले बाल सुधारगृह छ । क्षमताभन्दा बढी बालकहरू राखिएकाले त्यहाँ बालकहरूको अवस्था सुधार उन्मुख हुनै सकेको छैन । टिपिओ र युनिसेफको टोलीले देशभरका बाल सुधारगृहहरूको अवलोकन गरिरहेको छ । यसै क्रममा हिजो केन्द्रीय बाल न्यायिक समितिका सदस्य सचिव सर्वाेच्चका रजिस्ट्रारले पनि बाल सुधारगृहमा नाम अनुसारको काम नभएको दुःखेसो पोखे । उनीसँगै रहेका न्यायाधीशहरूले पनि पर्साको बाल सुधारगृह भौतिक संरचनादेखि भित्री वातावरणमा निकै सुधारको खाँचो औल्याए । अहिलेको वातावरणमा नाबालकहरू सुध्रिनुको साटो बिग्रिने सम्भावना बढी छ । त्यहाँ बालमैत्री वातावरण बन्न नसक्नुका थुपै उदाहरण टोलीले प्रस्तुत गरे ।

एकजना न्यायाधीशले नाबालकहरूको हकमा फैसला गर्दा उनीहरूलाई बाल सुधारगृहमा नपठाउनुस् बरु कारागार चलान गरिदिनुस् भनेर जिकिर गर्न थालेको बताए । उनको यो अभिव्यक्तिले पनि बाल सुधारगृहको अवस्था दर्शाउँछ । वीरगंजको बाल सुधारगृह छ महीना अघि घटित घटनाले झनै बद्नाम भएको छ । बाल सुधारगृहभित्रको बिग्रिएको वातावरणले स्थानीयवासी पनि पीडित छन् । स्वयम् नाबालकहरूको रुचिमा पर्न सकेको छैन भने अभिभावकहरू पनि आफ्ना बालकहरूलाई बाल सुधारगृहमा राख्नै मानेका छैनन् । एउटा व्यक्तिको चरित्र निर्माणका लागि धेरै कुरामा ध्यान दिनुपर्छ, जुन ध्यान दिनुपर्ने हो, त्यो गरिएकै छैन । बाल मनोविज्ञान अति नै संवेदनशील हुने भएकोले समस्याको समाधान गर्न कदापि ढिला गर्नुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here