राजेश मिश्र, वीरगंज, ५ चैत/
वीरगंज महानगरपालिका–१० घडीअर्वा बस्ने ४५ वर्र्षीय मोहनबहादुर क्षत्री झन्डै सात महीनादेखि पक्षघात भएर थला परेका छन् । उनको कमाइको भरमा परिवारको भरणपोषण हुँदै आएको थियो । उनी बिरामी परेर थला परेपछि अहिले परिवारको बिचल्ली भएको छ ।

क्षत्रीको परिवारमा ९० वर्षका वृद्ध बुबा र ८० वर्षकी वृद्धा आमासँगै पत्नी र चारजना छोरी गरी आठजनाको परिवार छ । क्षत्री रारा चप्पल उद्योग, जीतपुरमा सुरक्षा गार्डमा स्थायी जागीरे थिए । सो कमाइबाट नै परिवारको चल्दै आएको थियो । अहिले उनी थला परेपछि टोलछिमेकको दयामायामा बाँचेका छन् ।

क्षत्रीले भावविह्वल हुँदै भने, “आमाबुबा, पत्नी र चारजना छोरीको अनुहार नियाल्नुबाहेक मेरो शारीरिक र आर्थिक हैसियत सङ्कटग्रस्त छ ।”

छिमेकीहरूका अनुसार भूमिहीन क्षत्री परिवार वीमनपा वडा नं १० का स्थायी बासिन्दा हुन् । क्षत्री परिवारसँग अहिलेसम्म बस्नका लागि घर छैन र भाडामा बस्दै आएका छन् । सोही टोलका एकजना घरधनीले यो परिवारलाई निश्शुल्क डेरा दिएका छन् ।

गत असोजमा काममा जाने क्रममा राति भुइँमा लडे । क्षत्रीको नारायणी अस्पताल र एडभान्स अस्पतालपछि एलएस न्युरो अस्पतालमा उपचार भयो । त्यहाँ तीन दिन उपचार भएको थियो । चिकित्सकहरूले ब्रेन स्ट्रोक भएको परिवारजनलाई अवगत गराएका थिए । उनको शरीरको बायाँतर्फको अङ्ग काम गरिरहेको थिएन ।

चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्छ भन्दैै ठूलो धनराशि खर्च हुने बताएपछि आर्थिक समस्याले ग्रस्त क्षत्रीलाई घरमा राखेर हेरचाह गरिंदै आएको पत्नी सुशीला क्षत्रीले बताइन् । खानलाउन गा-हो भएको अवस्थामा अस्पतालमा शल्यक्रिया गराएर उपचार गराउने आफूले सपनामा पनि नचिताएको उनले बताइन् ।

उनले उपचारका लागि नभए पनि परिवारको भरणपोषणको लागि सहयोगको अपील गरेकी छन् । अहिले छिमेकीहरूको सहयोगमा औषधिको प्रबन्ध मिल्दै आएको उनले बताइन् । पतिको फिजियोथेरापी भइरहेको र क्रमिकरूपमा स्वास्थ्य सुधार भइरहेको सुशीलाले बताइन् । उनले आफूलाई तत्काल कुनै पनि रोजगार उपलब्ध गराए बिरामी पति, सासूससुरा र छोरीहरूको पालनपोषणमा सहयोग मिल्ने बताइन् ।

छिमेकी ओमप्रकाश गुप्ताले टोलका बासिन्दाहरूले सकेसम्म क्षत्री परिवारलाई आर्थिक र अन्नपात सहयोग गरिरहेको बताए । उनले क्षत्री परिवार अहिले धेरै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताए । छिमेकी उर्मिला देवीले सुशीलामाथि परिवारको जिम्मेवारीको ठूलो भार थपिएको बताइन् । उनले वृद्ध सासूससुरा, पतिको दिसापिसाबदेखि बच्चाहरूको स्याहासुसार सुशीलाको काँधमा सरेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here