प्रस, वीरगंज, ४ चैत/
पर्सामा निर्वाचित जनप्रतिनिधिहरूले भूमिहीनको पक्षमा आवाज उठाउन नसकेको राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति पर्साका अध्यक्ष तबरेज अहमदले आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखामा भएको पत्रकार सम्मेलनमा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीहरूको हकमा आयोगले काम गरे पनि भूमि दिलाउन मुख्य भूमिका स्थानीय पालिकाको रहेको अध्यक्ष अहमदले बताए । निर्वाचित जनप्रतिनिधिहरू बजेट सक्याउनमैं व्यस्त रहेकाले उनीहरूले आयोगले गरेका काममा सहयोग नगरेको आरोप उनको थियो । आआफ्ना पालिकाहरूमा कति सङ्ख्यामा भूमिहीन रहेको, उनीहरूलाई कसरी व्यवस्थापन गर्नेबारे आयोगले पटकपटक अन्तत्र्रिmया गराउनुका साथै लिखित पत्राचार गरे पनि हालसम्म सोसम्बन्धी तथ्याङ्क दिन सकेको अध्यक्ष अहमदले बताए । जुन पालिकाहरूले तथ्याङ्क उपलब्ध गराएका छन्, त्यहाँका भूमिहीनहरूलाई वैशाखको पहिलो सातामा जग्गाधनी पुर्जा बाँड्ने तयारी भइरहेको पत्रकार सम्मेलनमा अध्यक्ष अहमदले बताए ।

कार्यक्रममा आयोगका सदस्यसचिव रहेका नापी कार्यालयका प्रमुख राकेशकुमार झाले आयोग पर्सामा हालसम्म छ हजार ८८९ वटा निवेदन दर्ता भएको पत्रकार सम्मेलनमा जानकारी दिए । उनले पर्सा जिल्लाको ठोरी गापा वडा नं ४ र ५ राष्ट्रिय निकुञ्जमा परेकाले नक्शापासमा रोक लगाइएको बताए । उनले पर्सागढी नगरपालिकाको वडा नं २ मा नापनक्शा भएको, फिल्ड बूक उतार र श्रेस्ता कायम गर्ने प्रक्रिया शुरू भएको बताए ।

ठोरी गाउँपालिकामा भूमिहीन दलित २६, भूमिहीन सुकुमबासी एक हजार ७४०, अव्यवस्थित बसोबासी एक हजार ९०६ जनाले निवेदन दिएका छन् ।

त्यस्तै, पर्सागढी नगरपालिकामा भूमिहीन दलित ७७२, भूमिहीन सुकुमबासी ३५७, अव्यवस्थित बसोबासी ५५४ जनाले निवेदन दिएका छन् ।

बहुदरमाई नगरपालिकामा भूमिहीन दलित २१, भूमिहीन सुकुमबासी ७८, अव्यवस्थित बसोबासी ६९ जनाले निवेदन दिएका छन् ।

वीरगंज महानगरपालिकामा भूमिहीन दलित १६, भूमिहीन सुकुमबासी ५०, अव्यवस्थित बसोबासी १५१ जनाले निवेदन दिएका छन् ।

सखुवाप्रसौनी गाउँपालिकामा भूमिहीन दलित ५२८, भूमिहीन सुकुमबासी ३५२, अव्यवस्थित बसोबासी एक हजार २१५ जनाले निवेदन दिएका सदस्यसचिव झाले बताए ।

राष्ट्रिय भूमि आयोग पर्साले दुईपटक सूचना प्रकाशित गरे पनि हालसम्म विन्ध्यवासिनी, कालिकामाई, जगरनाथपुर, छिपहरमाई, धोबिनी, पटेर्वासुगौली, पकाहामैनपुर, जीराभवानी गापा र पोखरिया नपाले बेवास्ता गरेको अध्यक्ष अहमद जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here