प्रस, वीरगंज, २९ फागुन/
नारायणी रङ्गशालामा फागुन २८ गते सोमवारदेखि सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज बुधवार समापन भएको छ ।
जिल्ला खेलकूद विकास समिति पर्साको आयोजनामा नारायणी रङ्गशालामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पर्साका ठोरी, सखुवापरसौनी, कालिकामाई, पटेर्वासुगौली गापा र पर्सागढी नपा तथा वीरगंज महानगरपालिका गरी छवटा पालिका सहभागी थिए ।
१५, आठ, चार र दुई, एक सय मिटर दौड, कबड्डी, ज्याबलिङ थ्रो, रिले दौड, भलिबल, हाइजम्प, लङजम्पलगायत खेल समावेश भएको प्रतियोगितामा वीरगंज महानगरपालिका प्रथम, पर्सागढी नगरपालिका द्वितीय र ठोरी गाउँपालिका तृतीय भएको मुख्य निर्णायक विश्वेश्वर पटेलले बताए ।
जिल्ला खेलकूद विकास समितिका प्रमुख महम्मद शकीलको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष हीरा गिरी थिए । कार्यक्रममा जुडो प्रशिक्ष्Fक पृथ्वीआलोक कुशवाहा, तेक्वान्दो प्रशिक्षक नाजीर हुसेन, कबड्डी प्रशिक्षक अमित अग्रवाल र तेक्वान्दो सङ्घ पर्साका अध्यक्ष गणेशमान सिंहलगायतको सहभागिता थियो । यस अघि प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य जनार्दनसिंह क्षत्रीले गरेका थिए ।