ढाका, १८ फागुन/सिन्ह्वा
बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीवार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।
बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रवार बिहान सिन्ह्वासँगको कुराकानीमा घटनाको पुष्टि गरेका छन् ।
उनका अनुसार ३३ जनाको शव ढाका मेडिकल कलेज अस्पतालमा र १० जनाको शव ढाकास्थित शेख हसिना नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा ल्याइएको छ ।
ढाकास्थित फायर सर्भिस एन्ड सिभिल डिफेन्स हेडक्वाटरका इन्स्पेक्टर अनवारुल इस्लामले सिन्ह्वासँग कुरा गर्दै ४२ जना अचेत अवस्थामा रहेकासहित करीब ७५ जनालाई ‘ग्रीन कोजी कटेज सपिङ मल’बाट उद्धार गरिएको र उनीहरूलाई विभिन्न अस्पतालमा लगिएको बताएका छन् ।
इस्लामका अनुसार उद्धारकर्मीले घटनास्थलमा काम गरिरहेका छन् । राति ९ः३० बजेतिर आगलागी भएको सूचना पाएपछि दमकल पठाइएको उनले बताए ।
स्थानीय समय अनुसार बिहीवार राति ११ः३० बजे १२ वटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।
अधिकारीका अनुसार सात तले भवनमा एउटा रेस्टुरेन्ट, एउटा आउटलेट र अन्य थुप्रै पसल छन् ।
नाम उल्लेख नगर्ने शर्तमा अग्निनियन्त्रणका अर्का एक अधिकारीले आगलागीमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।
शुक्रवार बिहानै आएको टिभी रिपोर्ट अनुसार भवनका केही भागमा शुक्रवार बिहान समाचार तयार पार्दासम्म आगलागी पूर्ण नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण तत्काल खुल्न सकेको छैन । रासस