लन्डन, १८ फागुन/एएफपी
लन्डनको साउथ केन्सिङ्टननजीकैको एक आवासीय भवनमा शुक्रवार बिहानै भएको आगलागीमा परेका ११ जनालाई अस्पताल भर्ना गरिएको छ भने करीब १३० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
लन्डनको दक्षिण–पश्चिममा रहेको नेचुरल हिस्ट्री म्युजियमनजीकै एम्परर्स गेटमा रहेको अपार्टमेन्टमा आगलागी भएपछि पाएको सूचना लगत्तै १५ वटा दमकल र करीब १०० जना अग्निनियन्त्रकलाई घटनास्थलमा खटाइएको थियो ।
लन्डन फायर ब्रिगेडका अनुसार पाँच तले भवनको भुइँतलाको आधा भाग उनीहरू आइपुग्दा आगोले जलेको थियो ।
उनले भने, “भुइँतलादेखि माथिल्लो तला र छानासम्म आगो फैलिएको छ । दमकल तथा अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रणमा लिन कडा मेहनत गरिरहेका छन् ।”
“आगलागीलाई नजीकैका भवनहरूमा फैलनबाट रोक्ने काम भइरहेको छ,” घटनास्थलमा रहेका स्टेशन कमान्डर स्टिभ कोलिन्सले भने । पाँचजनालाई भ¥याङ प्रयोग गरेर उद्धार गरिएको थियो भने करीब १३० बासिन्दालाई घर र वरपरका भवनबाट बाहिर निकालिएको थियो ।
धूवाँको मुस्लोका कारण स्वासप्रश्वासमा समस्या भएका करीब ११ जनालाई उपचारका लागि अस्पताल लगिएको दमकल सेवाले जनाएको
छ । रासस