प्रताप श्रेष्ठ, ठोरी, १६ फागुन/
ठोरी गाउँपालिका–३ स्थित सशस्त्र प्रहरी बल ब्रह्मनगर पोस्ट स्थापनाका लागि जग्गा प्रदान गर्ने जग्गादाताहरूलाई बुधवार कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ ।
सशस्त्र प्रहरी दिवसको अवसर पारेर ब्रह्मनगरमा आज सशस्त्र प्रहरीले जग्गादाताहरू मानकुमारी श्रेष्ठ र मानबहादुर श्रेष्ठलाई पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सम्मान गरे । श्रेष्ठद्वय नातामा दिदीभाइ हुन् । उनीहरूले सशस्त्रको बिओपी भवन निर्माणको लागि हुलाकी सडकनजीक पर्ने आआफ्नो नाममा रहेको एक/एक कट्ठा गरी दुई कट्ठा घडेरी जग्गा दान गरेका थिए । दुई कट्ठा जग्गामा थप १० कट्ठा सार्वजनिक जग्गासमेत प्रयोग गरेर बिओपी ब्रह्मनगर स्थापना गरिएको छ ।
कार्यक्रममा मुख्य अतिथि प्रजिअ भुसालले जग्गादाताद्वयलाई सम्मान गर्दै सीमारक्षाको सवालमा ठोरीवासीले देखाउँदै आएको साहसको प्रशंसा गरे । उनले मुलुकको रक्षा एवं समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न नागरिक र प्रहरी एकअर्काका परिपूरक हुन् भन्दै कुनै पनि समस्या आएमा स्थानीयस्तरको भावना र आवश्यकतालाई मध्यनजर गरी राष्ट्रहित अनुकूल हुनेगरी समाधान गर्न स्थानीय प्रहरी र नागरिकलाई आग्रह गरे ।
ब्रह्मनगरका सशस्त्र प्रहरी निरीक्षक सुशील पन्तले सहजीकरण गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य, वडाध्यक्ष शम्भु खड्का, पूर्ववडाध्यक्ष सूर्यबहादुर लामालगायतको सहभागिता थियो ।