प्रस, वीरगंज, १६ फागुन/
भारत, बिहार, जिल्ला पूर्वी चम्पारण, रक्सौल प्रखण्डको धनगढवा कौडिहार पञ्चायतका दुई गाउँ कौडिहार र लौकहालाई पूर्ण बालविवाहमुक्त घोषित गरिएको छ ।

रक्सौल प्रखण्डको धनगढवा कौडिहार पञ्चायतकी मुखिया तबसुम आराले कौडिहार र लौकहा
गाउँ बालविवाहमुक्त घोषित गरेकी हुन् ।

सो अवसरमा मुखिया आराले बिहार सरकारले प्राथमिकतामा राखेका सात योजनामध्ये बालविवाहमुक्त समाज एक भएको र विगत एक वर्षको प्रयासमा दुईवटा गाउँलाई पहिलोचोटि बालविवाहमुक्त घोषणा गर्न सफल भएको बताइन् । उनले सामाजिक कुरीतिमा पर्ने बालविवाह अन्त्यका लागि समाज अग्रसर भएको खण्डमा प्रभावकारी परिणाम आउने दाबी गरिन् ।

मानव तस्करी रोधी एकाइ क्षेत्र मुख्यालयका इन्स्पेक्टर मनोजकुमार शर्माले बालविवाह सामाजिक कुरीति भएको र यसले बालबालिकाको शिक्षा, स्वास्थ्य र जीवनशैलीमा नकारात्मक असर पार्दै आएको बताए ।

प्रयास जुवेनाइल एड सेन्टर पूर्वी चम्पारणको ‘एक्सिस टु जस्टिस’ कार्यक्रम अन्तर्गत विगत दुई वर्षदेखि नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको आह्वानमा बालविवाहमुक्त भारत अभियान बिहारमा सञ्चालित छ । प्रयास जुवेनाइल एड सेन्टर पूर्वी चम्पारणकी जिल्ला संयोजक आरती कुमारीको अध्यक्षतामा भएको कार्यक्रममा मुखियाका पति नायाब आलम, सरपञ्च अतिउल्लाह आलम, उपमुखिया बिजली राउत, वडासदस्यहरू विनोद यादव, चन्द्रावती देवी, मानव तस्करी रोधी एकाइ क्षेत्र मुख्यालय एसएसबी बेतिया वाहिनी रक्सौलका अरविन्द द्विवेदी, अमृता कुमारी, टिनु कुमारीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here