काठमाडौं, १४ फागुन/रासस
नेपाल क्रिकेट सङ्घ (क्यान)ले ‘ए’ ग्रेडमा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ । यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्पm ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक रु एक लाख तलब दिने निर्णय गरेको हो । ‘ए’ ग्रेडमा छजना खेलाडी पर्न सफल भएका छन् ।
बैठकले पुरुषतर्फ ‘बी’ ग्रेडमा पर्ने खेलाडीलाई रु ७० हजार, ‘सी’ ग्रेडलाई रु ५५ हजार, ‘डी’ ग्रेडलाई रु ३५ हजार तथा इमर्जिङ समूहमा पर्नेलाई रु २५ हजार प्रदान गर्ने निर्णय गरेको हो ।
‘ए’ ग्रेडमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । त्यसैगरी, ग्रेड ‘बी’मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी र अविनाश बोहरा छन् । ग्रेड ‘सी’मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतीश जिसी छन् ।
ग्रेड ‘डी’मा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेककुमार यादव, आकाश चन्द, वशीर अहमद र सूर्य तामाङ छन् भने इमर्जिङ समूहमा दीपेश कँडेल, रूपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी छन् ।
महिलातर्फको ग्रेड ‘ए’मा इन्दु वर्मा, रूविना क्षत्री र सीता रानामगर छन् भने ग्रेड ‘बी’मा कविता कुँवर, ग्रेड ‘सी’मा पूजा महतो र अश्मिना कर्माचार्य छन् । त्यसैगरी, ग्रेड ‘डी’मा अप्सरी बेगम, कविता जोशी, सङ्गीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल छन् ।
इमर्जिङमा सोनी पाख्रिन, खुशी डङ्गोल, ज्योत्सिना मरासिनी, कञ्चन श्रेष्ठ, रूबी पोद्दार, सृष्टि जैसी, सम्झना खड्का र सना प्रवीण छन् ।
महिलातर्फको ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई रु ५० हजार प्रदान गरिनेछ भने ‘बी’ ग्रेडलाई रु ३५ हजार, ‘सी’ लाई रु ३० हजार, ‘डी’ लाई रु २५ हजार तथा इमर्जिङ समूहलाई रु २० हजार प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।