प्रस, वीरगंज, १३ फागुन/
वीरगंज महानगरपालिकाका पौने चारसयको हाराहारीमा सामाजिक सुरक्षा भत्ता लिनबाट वञ्चित भएका छन् । ३२ वटै वडा गरी चालू आवमा ३७१ जनाको सामाजिक सुरक्षा भत्ता कट्टा भएको सामाजिक विकास महाशाखाका प्रमुख माया थापाले बताइन् ।
उनले वडाबाट नवीकरण नगराएको र नवीकरण गराएकामध्येबाट पनि प्राविधिक कारणवश छुट हुन गएको सङ्ख्या ३७१ भएको बताइन् । यीमध्ये प्रFविधिक कारणवश छुट भएका ७० जनाले भने भुक्तानी पाउने वातावरण बनेको बताइन् । उनले महानगरले कोलेनिका र कोलेनिकाबाट मन्त्रालयमा सिफारिश भएको र प्राविधिक कारणवश छुट भएका ७० जनाको रकम निकासा भएर आएको बताइन् ।
३७१ जनामध्ये ३०१ जनाको भने नवीकरण नगराइएको कारण छुट भएको बताइन् । सरकारले चार चरणमा तीन–तीन महीनाको अवधिमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
पहिलो चरणमा नवीकरण नगराएकाहरूले पुनः नवीकरण गराउँदा दोस्रो चरणमा सो भत्ता पाउने र दोस्रो चरणमा पनि नगराएकाले तेस्रो र चौथो चरणको सामाजिक सुरक्षा भत्ता पाउने उनले प्रस्ट्याइन् । महाशाखा प्रमुख थापाले वीरगंज महानगरपालिकामा १४,४५६ जनाले सामाजिक सुरक्षा भत्ता पाइरहेको जानकारी गराइन् । ज्येष्ठ नागरिक ८१८६ जना, दलित ज्येष्ठ नागरिक ५८९, विधवा २२३८, पूर्ण अपाङ्ग ४३१, अति अशक्त अपाङ्ग ७७८ जना, दलित बालबालिका ९९७ जना र लोपोन्मुख ११ जना गरी १४,४५६ जनाले सामाजिक सुरक्षा भत्ता पाइरहेको र यो रकम वार्षिक १४,००,०५,६५६ रुपियाँ रहेको उनले बताइन् ।
अहिले सामाजिक सुरक्ष्Fा भत्ता बर्सेनि साउन–भदौसम्म नवीकरण गराउनुपर्ने प्रावधान रहेको र यस्तो गर्नेको खातामा स्वतः रकम जाने र सोको जानकारी इएफटीबाट सेवाग्राहीले लिन सक्ने बताइन् । सामाजिक सुरक्षा भत्ता आयो–आएन भन्ने विषयमा अब वडा कार्यालय र नगरपालिका धाउनु नपर्ने बताउँदै बैंकले इएफटीमार्फत सेवाग्राहीको मोबाइलमा जानकारी गराउने उनले बताइन् । खातामा गएको रकम जुनसुकै बेला झिक्न सकिने उनले बताइन् ।