प्रस, रौतहट, १२ फागुन/
रौतहटका केही नगरपालिकामा निर्माण कार्य सम्पन्न भएपछि इस्टिमेट तथा कार्य आदेश लिने गरिएको छ । नगर परिषद्बाट वडा, नगरप्रमुख र उपप्रमुखको बजेट विनियोजन भएको खण्डमा मनपरी ढङ्गले निर्माण कार्य गरी कार्यादेश तथा इस्टिमेट बनाउन लागेको गुनासो छ ।
गुजरा नगरपालिकाकी उपप्रमुख रत्ना लामाले इस्टिमेट र कार्याादेशविना विकास निर्माणको काम शुरू गरेकी छन् ।
गुजरा नपा–४ जङ्गलसहिया बजारमा उनले २० लाखको योजना छुट्याएर इस्टिमेट र कार्यादेशविना नै विकास निर्माण गरेको समाचार स्रोतको दाबी छ । उपप्रमुख लामा इस्टिमेट र कार्यआदेशविना नै विकास निर्माणको काम गर्न थालेपछि नगरपालिकाको प्राविधिक टोलीले सो काममा रोक लगाएको छ ।
उपप्रमुख लामाले अन्य शीर्षकको योजना कटौती गरी आफूलाई फाइदा हुने जङ्गलसहीया बजार क्षेत्रमा पिसिसी ढलान गराउन लागेको स्थानीयको भनाइ छ । इस्टिमेट र कार्यादेशविना काम शुरू गरेपछि स्थानीय बासिन्दा र बजार समितिले विरोध गरेको थियो । त्यसपछि नगरपालिकाको प्राविधिक टोलीले काम रोकेको छ ।
नगर प्रमुख सन्तलाल चौधरी, उपप्रमुख, वडाध्यक्षलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा समाजसेवीहरूको उपस्थितिमा बजार व्यवस्थापन समिति गठन भए तापनि समितिलाई बेवास्ता गरी उपप्रमुखले सो योजनाको शिलान्यास गरेकी छन् ।
उपप्रमुख लामाले बजारको बाटो रहेकोले वर्षात्को मौसममा काम गर्न अप्ठ्यारो हुने गरेकोले जनताको माग बमोजिम कार्य गर्न लगाएको बताइन् । उनले कार्यादेश तथा इस्टिमेट बनाएर योजनाको काम वर्षायाममा गर्दा गुणस्तरीय नहुने भन्दै जनताको माग बमोजिम योजना परिवर्तन गरी सूत्रले स्वीकृत गरेको हुनाले कार्य अगाडि बढाएको बताइन् । आफूले चुनावको बेलामा गरेको प्रतिबद्धता अनुरूप काम गरेको बताइन् ।
उनले विपक्षीहरूले काम नपाएर यस प्रकारको मुद्दा उठाएर दुःख दिन खोजेको उनको आरोप छ । निर्माण सम्पन्न भएपछि कामको प्राविधिक मूल्याङ्कन गरी बिल बनाउने बेलामा पनि इस्टिमेट बनाउन सकिने उनले बताइन् । इस्टिमेट बनाए पनि कामको मूल्याङ्गन हुने गरेको उनको भनाइ छ । आपूm केही समय बाहिर गएकोले काम रोकिएको बताउँदै उनले भनिन्– भोलि गाउँँ जाँदैछु निर्माण कार्य शुरू हुनेछ ।