प्रस, पोखरिया, ११ फागुन/
ठोरी गाउँँपालिकाको आयोजनामा आसमान नेपाल र स्ट्रीट चाइल्ड अफ नेपालको प्राविधिक सहयोगमा आपूरण तथा द्रुत सिकाइ कार्यान्वयनका लागि दुई दिने तालीम शुक्रवार ठोरी गापामा सम्पन्न भएको छ ।
ठोरी गापाका शिक्षा शाखा प्रमुख भुपाल जोशीले कोभिडका कारण बालबालिकाको सिकाइमा पर्न गएको असरका कारण पठनपाठनमा सहजता आउन नसकेकोले सोको परिपूर्ति गर्न तालीमको आयोजना गरिएको बताए । उनले तालीममा द्रुत सिकाइको माध्यमबाट कक्षा ३ देखि ५ का विद्यार्थीहरूको नेपाली र गणित तथा कक्षा ६ देखि ८ का विद्यार्थीहरूको अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषयको सिकाइ परिपूर्ति गरिने बताए ।
तालीममा सहभागीहरूलाई अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, सिकाइ स्तरअनुरूप शिक्षण विधिलगायत विभिन्न योजना निर्माण गरी सिकाइलाई आपूरण गर्नेबारे प्रशिक्षण दिएको थियो ।
तालीम समापन कार्यक्रममा गापा अध्यक्ष लालबहादुर श्रेष्ठले विद्यालयमा विद्यार्थीहरूको सिकाइ उपलब्धिका लागि चाहिने हरेक आवश्यकता पूरा गर्ने बताए । उनले शिक्षकलाई चाहिने तालीम, शैक्षिक सामग्री, विद्यालयको भौतिक पूर्वाधारलगायत पालिकाले पूरा गर्ने बताए । अध्यक्ष श्रेष्ठले तालीममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सुझाव दिए ।
कार्यक्रममा उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, शिक्षक कृष्ण पौडेल, रमा कुँवरलगायतले मन्तव्य व्यक्त गरेका थिए । तालीममा २१ वटा विद्यालयका प्रअ र शिक्षक गरी ४२ जना सहभागी थिए । तालीममा मुकेश रजकले प्रशिक्ष्Fण दिएका थिए ।