• विनोद गुप्ता
यस वर्षको जनवरी २६ को भारतीय गणतन्त्र दिवसको लागि अमेरिकी राष्ट्रपति बाइडेनलाई प्रमुख अतिथिको रूपमा निम्त्याइएको थियो तर अलि ढिलो गरी ह्वाइट हाउसबाट निमन्त्रण अस्वीकार भएपछि भारतको तर्फबाट फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोंलाई निम्त्याइएको थियो । उनले निमन्त्रण स्वीकार गरे र सरिक पनि भए ।
अमेरिकी राष्ट्रपतिले राम्रो र बलियो बन्दै गरेको भारत–अमेरिका सम्बन्धका बावजूद निमन्त्रण अस्वीकार गर्नुलाई सहजरूपमा लिएको पाइँदैन । यसको कारणहरूमा अमेरिकी धार्मिक रिपोर्ट–२०२३ मा भारतलाई धार्मिक स्वतन्त्रताको सन्दर्भमा कमजोर एवं गैरहिन्दूपीडक देशको रूप दरिनु रहेको पनि मानिएको छ । नयाँ संसद् भवनको उद्घाटनमा राजदण्डको स्थापना एवं २२ जनवरीका दिन राममन्दिर उद्घाटनका दौरान देखिएको धार्मिक उन्मादलाई पनि कारण मानिएको छ । अब प्रश्न उठ्छ यतिका आधार हुँदाहुँदै फ्रान्सका राष्ट्रपतिले कसरी यो निम्तो स्वीकार गरे ? यस सम्बन्धमा म्याक्रोंको आदर्श वाक्य– ‘एलाइड बट नट एलाइनेटेड’ र भारतीय विदेशमन्त्रीको ‘इनटाइटल्ड टु हयाज इट्स साइड’को अवधारणाभित्र एउटा साझा तत्व छ, र त्यो हो रणनीति–स्वायत्तता ।
सन् १९९८ मा भारत र फ्रान्सबीच रणनीतिक साझेदारी कायम गर्ने सम्झौता भएको कारण दुवै देशबीच विवादरहित सहकार्य हुँदै आएको छ । सन् २०२० देखि भारत र चीनबीच देखिंदै आएको सीमा विवादको पृष्ठभूमिमा आप्mनो चीन भ्रमणका दौरान ‘पेरिस अरूको स्वार्थमा प्रयोग नहुने’ अभिव्यक्ति दिएका म्याक्रोंले यसपटक भारत आएर यही रणनीतिक स्वायत्तताको अनुपालन गरेको बुझिन्छ । भारतको विश्वका अधिकतम देशसँग कूटनीतिक सम्बन्ध र ३५ देशसँग रणनीतिक सम्बन्ध रहेको छ ।
भारतले सन् १९७१ मा पूर्व सोभियत सङ्घ र हालको रूससँग दीर्घकालीन रणनीतिक साझेदारी गरेको छ र झन्डै ५० प्रतिशत सैन्य सामग्रीको लागि रूसमाथि निर्भर छ । तर पूर्व सोभियत सङ्घको विघटनपछि भारतले निर्भरताको जोखिम घटाउन फ्रान्सको रूपमा थप एक बलियो रणनीतिक साझेदार बनाएको छ ।
भारतलाई दक्षिण एशिया मात्रै नभई बाँकी विश्वका सामु शक्तिशाली राष्ट्रको रूपमा उभिन आफ्नो आर्थिक र सैन्य क्षमता बढाउनु आवश्यक भइसकेको थियो । यसमा फ्रान्स ठूलो सहायक बन्न पुग्यो र चीनको बिआरआई रणनीति सार्वजनिक भएपछि २००८ को न्युक्लियर सन्धिपछि अमेरिका नजीक हुन पुगेको भारत इन्डो प्यासिफिक रणनीति र क्वाडसमेतको सदस्य बनेर आफ्नो प्रभाव विस्तार गर्न सफल भएको मानिन्छ ।
दक्षिण एशियामा चीन र पाकिस्तानसँग भारतको सम्बन्ध राम्रो भएको मानिदैन । हुनत रणनीतिक सम्बन्ध नराम्रो भएपनि व्यापारिक सम्बन्ध दिनानुदिन बढ्दै गएको पाइन्छ । अर्काेतर्फ, एकातिर पाकिस्तानको अमेरिका र चीन दुवैसँग रणनीतिक सम्बन्ध छ भने फ्रान्सको, भारतको तुलनामा चीनसँग बलियो रणनीतिक साझेदारी छ । यस चक्रव्यूहले गर्दा भारतले चाहेर पनि प्रतिद्वन्दीलाई ठेगान लगाउन सक्ने अवस्था देखिंदैन ।
भारतको सर्वाेच्च अदालतले सन् १९९४ मा राजनीति र धर्म मिसाउन सकिंदैन भनी दिएको फैसलाविपरीत मोदीले अयोध्यामा राममन्दिरको गर्भगृहको अभिषेक गरेर आगामी लोकसभा चुनावका लागि आफ्नो प्रचार अभियान थालनी गरेको मानिन्छ । किनभने भारतीय विदेशमन्त्रीले मोदी डक्ट्रिनका रूपमा ‘ह्वाई भारत म्याटिस’ शीर्षक पुस्तक यही बेला प्रकाशनमा ल्याएका छन् । जसमा किताबको शीर्षक नै अङ्ग्रेजी भाषाको पुस्तकमा ‘इन्डिया’ लेख्ने प्रचलनका बावजूद भारत शब्द प्रयोग गरिएको छ र ‘वसुधैव कुटुम्बकम्’को सहारा लिंदै उनले महाभारतले राजनीतिक यथार्थको अभ्यास र रामायणले विधिमा आधारित शासन व्यवस्था अनुकरण गरेकोले समकालीन भारतीय राज्य सञ्चालनमा सहसम्बन्धको भूमिका निर्वाह गर्दै आएकोसमेत उल्लेख गरेका छन् ।
यस आधारमा विचार गर्दा ‘सभ्यता राज्य’ को स्थापना वर्तमान भारतीय राजनीतिको आधारस्तम्भ भएको मान्न सकिन्छ । जहाँसम्म आर्थिक क्षेत्रमा विकासको कुरा छ, विश्वव्यापी आर्थिक वृद्धिदर २.४ प्रतिशत भए पनि २०२३ को तेस्रो त्रैमासिकमा भारतले ७.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको छ । जुन आफैंमा ठूलो उपलब्धि हो । यो कायम रहन सकेमा गरीबीको रेखामुनि रहेका १४० करोडमध्ये करीब ५० करोडले दुर्ई छाक खान सक्ने बताउँदै महाशक्ति राष्ट्र बन्नेतर्फ अग्रसर हुने राम्रो लक्षण रहेको भन्न सकिन्छ ।
अन्त्यमा अमृत महोत्सवको यो गणतन्त्र दिवस भारतका जनता र भारत सरकारको लागि अमृतमय होस् भनेर छिमेकीको हैसियतले हार्दिक शुभकामना १