प्रस, वीरगंज, ६ फागुन/
पर्सा जिल्ला अदालतबाट अर्काको जग्गामा मुद्दा लडी आफ्नो हकमा फैसला गराएर किर्ते गर्न खोज्ने एकजना भूमाफियाको पोल खुलेको छ ।

हाल काठमाडौं बस्ने रेणुदेवी अग्रवालको नाममा रहेको वीरगंज महानगर–५ बिटौरीको जग्गामा अब्दुल हमिद अन्सारीले पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरी आफ्नो हकमा फैसला गराएका थिए ।

उनले २०७६ सालमा अदालतबाट फैसला गराए पनि २०८० फागुन १ गते कित्ताकाटको लागि मेन्टेनेन्स नापी शाखामा जाँदाबाट यो पोल खुलेको थियो ।

नापीमा अग्रवालले बिटौरीको जग्गा पहिले नै हालसाबिक गराएर कित्ता नं ४८ को ००७७.४० र कित्ता नं ४९ को ०००८३ गराएकी थिइन् । अदालतको आदेशमा सो जग्गा कित्ताकाट गर्दा अग्रवालको नाममा दर्ता भएको नापीले देखाएको थियो । यही जग्गा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साबाट अन्सारीले अदालतको बन्डापत्रको आधारमा दाखिला खारेज गराउन निवेदन दिएका थिए र मालपोतले कित्ताकाटको लागि नापीमा पठाएको थियो ।

आफ्नो जग्गा अर्काले अदालतको आदेशमा आफ्नो नाममा दर्ता गराउन खोजेको भनी अग्रवालले थाहा पाएपछि मालपोत कार्यालय, पर्सामा उजूरी गरेकी थिइन् र सो सम्बन्धमा छानबीन भएपछि नापीबाट गरिएको कित्ताकाट मालपोतले आज बदर गरेको छ । अहिले अन्सारी र यो कागजपत्र तयार गरी दाखिला खारेजको लागि पहल गर्ने लेखनदास साबिर सम्पर्कविहीन छन् ।

भूमिसुधार तथा मालपोत कार्यालय, पर्साले समयमैं घटनाबारे जानकारी भएकोले एउटाको जग्गा अर्काको नाममा जान जोगिएको जनाएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा यो घटना नौलो होइन । यसअघि पनि नापी नभएको बिटौरी र सुशीला सुन्दरी जग्गाहरूको अदालतमा मुद्दा दिने, आफ्नो पक्षमा फैसला वा मिलापत्र गरेर हडप्ने कार्य हुँदै आएको छ ।

यस्ता घटनामा थुप्रै मुद्दा जिल्ला, उच्च र सर्वोच्च अदालतमा विचाराधीन छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here