प्रस, परवानीपुर, ६ फागुन/
पर्सा जिल्लालाई आगामी जेठ ३ गते पूर्णखोप जिल्ला घोषणा गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति, पर्साले सो दिन जिल्ला पूर्णखोप घोषणा गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य कार्यालय पर्साको सहयोग र स्वास्थ्य निर्देशनालय मधेस प्रदेशको आयोजनामा जिल्ला खोप समन्वय समिति पर्साका सरोकारवालाहरूको वीरगंजमा सम्पन्न अन्तत्र्रिmया कार्यक्रममा सो निर्णय भएको हो । पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ वटा पालिका पूर्णखोप घोषणा भइसकेकाले जिल्लालाई पूर्णखोप घोषणा गर्ने निर्णय भएको हो ।
कार्यक्रममा आगामी फागुन १३ देखि २१ गतेसम्म जिराभवानी, सखुवाप्रसौनी, पर्सागढी, जगरनाथपुर, पटेर्वासुगौली, पोखरीया, वीरगंज ३ मा र आगामी फागुन २७ देखि चैत ५ गतेसम्म वीरगंजका बाँकी वडाहरू, बहुदरमाई नपा, ठोरी, छिपहरमाई, पकाहामैनपुर, विन्ध्यवासिनी, धोबिनी र कालिकामाई गापामा दादुरा र रूबेला खोप अभियान सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।
जिल्ला खोप समन्वय समिति पर्साका संयोजक एवं पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खोप समन्वय समिति पर्सा एवं जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरनप्रसाद कुर्मी, स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साह, नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमारविक्रम थापा, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाललगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले गरेका थिए ।