प्रस, निजगढ, ३ फागुन/
स्थानीय कृषकहरूले उत्पादन गरेका दूध बिक्री नभएको भन्दै सम्बन्धित निकायहरूमा पहल गरिदिन आग्रह गर्दै निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङलाई संयुक्तरूपमा बिहीवार ज्ञापनपत्र बुुझाइएको छ ।
बारा जिल्ला दुग्ध सहकारी सङ्घ लिमिटेडका अध्यक्ष पुरुषोत्तम भट्टराईले उनको कार्यकक्षमा सो पत्र बुझाएका हुुन् । हाल यस पालिकामा दैनिक १५ हजार लिटर दूध उत्पादन हँुदै आएकोमा दैनिक ११ हजार लिटर दूध मात्र बिक्री भई दैनिक चार हजार लिटर दूध होलिडेको मारमा पर्दै आइरहेको सो पत्रमा भनिएको छ ।
राज्यका सम्बन्धित निकाय, सरकारलाई पत्राचारमार्फत र मौखिकरूपमा खुल्ला सिमानाका कारण विदेशबाट भित्रिने दूध र दुग्धजन्य पदार्थलाई बन्देज गरी स्वदेशमा उत्पादन भएका दूध र दुग्धजन्य पदार्थको खपत बढाउँदै स्वदेशी कृषकहरूको आम्दानी बढाउन र उनीहरूलाई हौसला बढाउन सरोकारवाला निकायले भूमिका निर्वाह नगर्दा उपलब्धिमूलक कार्यहरूको स्थानीय कृषकहरूले अनुभूति गर्न नसकेको भन्दै सरकारले कृषकहरूको समस्यालाई सम्बोधन गर्न ढिलाइ गरे सडक सङ्घर्षसमेत गर्ने चेतावनी दिइएको छ ।
सरकारको पछिल्लो छ महीनाको रिपोर्टको आधारमा भारतबाट रु एक अर्ब ४७ करोड बराबरको दूध र दुग्धजन्य पदार्थ खरीद भएको भन्दै स्वदेशी कृषकहरूको समस्यामा भने सरकारको उदासीनता प्रस्ट देखिएको विज्ञप्तिमा भनिएको छ । सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घका बीचमा पटकपटक भएको छलफल र सम्झौता कार्यान्वयन नभएको जनाउँदै सरकारको उदासीनता भइरहे बाध्य भई पीडित कृषकहरू सडक सङ्घर्ष गर्न बाध्य हुुनेसमेत जनाइएको छ ।
लामो समयदेखि कृषकहरूले भुुक्तानी नपाउने तर दूध होलिडे हुने जस्ता दोहोरो मारमा अधिकांश दूध उत्पादक कृषक परिरहेको भन्दै फागुन महीनाभित्र सबै समस्याको दीर्घकालीन समाधान गर्नसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ । जिल्लाभरिका कृषकहरूलाई जस्तै निजगढका कृषकलाई पनि दैनिकरूपमा पर्दै आइरहेको मर्कालाई स्थानीय तह निजगढ नगरपालिकाले केही हदसम्म समाधान गर्न विद्यालयहरूमा दिवाखाजा, सुुत्केरी पोषण तथा अन्य कार्यक्रमहरूमा दूध र दुग्धजन्य पदार्थको खपत गर्नसमेत उक्त पत्रमा निजगढ नगरपालिकालाई ध्यानाकर्षण गराइएको छ ।