दिनेशकुमार मिश्र, वीरगंज, २९ माघ/
पर्सा जिल्लामा दिनहुँ मोटरसाइकल चोरी भइरहेको छ । गत शनिवार होटल लर्ड दियालोको मेनगेटबाट ना.३९प ६७०६ नम्बरको मोटरसाइकल चोरी भएको थियो । एपेक्स फर्मास्युटिकल्स प्रालिको नाममा रहेको उक्त मोटरसाइकल कर्मचारीले प्रयोग गर्दै आएका थिए । शनिवार होटल लर्ड दियालोमा बैठकमा सहभागी हुन उनले सो स्थानमा मोटरसाइकल पार्किङ गरेका थिए ।

यसैगरी, माघ २४ गते मकालु होटेलनजीकै चिल्डेन पार्कअगाडिबाट विनयकुमार साहको प्रदेश २–०३–००७ प ६७४७ नम्बरको मोटरसाइकल चोरी भयो ।

वीरगंजको भीडभाड हुने स्थान घण्टाघर, लिङ्करोड, आदर्शनगर, नारायणी अस्पताल, बसपार्क, माईस्थान चोक, घडीअर्वा पोखरी, अलखियामठ चोकबाट दिनहुँजसो मोटरसाइकल चोरी भइरहेको बताइन्छ ।

चोरहरूले मुख छोपेर मोटरसाइकल चोरी गर्ने हुँदा सिसिटिभीबाट पनि उनीहरूको पहिचान खुल्न नसकेको र प्रहरीले पनि मोटरसाइकल चोरलाई पक्राउ गर्न नसकेको एकजना पीडितले बताए ।

जिल्ला प्रहरी कार्यालय, पर्साले आव २०८०/८१ को अहिलेसम्म दुई सयवटा मोटरसाइकल चोरी भएकामा २५ वटा मात्र फेला पारेको जनाएको छ । जिप्रका, पर्साका प्रवक्ता कुमार विक्रम थापाले हराएका मोटरसाइकल खोजी गर्न र चोरलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको बताए । सीमापारिबाट मोटरसाइकल चोर आउने गरेकाले उनीहरूलाई पक्राउ गर्न समस्या भइरहेको प्रनाउ थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here